एमालेको सहमतिमै संविधान संशोधन प्रस्ताव पेस गरिएको प्रमको दावी

PM Pushpa Kamal Dahal with FNJ officials

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख विपक्षी दल नेकपा एमालेसँग सहमति गरेर नै आइतबार संसद्मा संविधान संशोधनको प्रस्ताव पेस गरिएको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमाले अध्यक्ष केपी ओली र आफ्नो बीचमा एकखालको सहमत भएर नै प्रस्ताव टेबल गरिएको हो भन्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो – “उहाँहरुले विरोध गरिराख्ने, सरकारले प्रस्तावहरु टेबुल गर्ने भन्ने एकखालको सहमति भएकै हो” उहाँले थप्नुभयो – “हामीले एग्री टु डिसएग्री गर्यौ । यो अन्तर्राष्ट्रिय रुपमा नै प्रचलन भएको तरिका हो ।”

बाहिर सञ्चारमाध्यममा भनिएजस्तो जबर्जस्ती प्रस्ताव टेबल नभएको भन्दै उहाँले केपी ओलीसँग आफूले एक घन्टा कुराकानी गर्दा समझदारी बन्न नसकेपछि यो सहमति भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो – “हामीबीचमा प्रक्रिया अगाडि बढाउनेतिर जाऔँ र विषयमा छलफल गर्दै गरौँ भन्ने सहमतिसँगै प्रस्ताव टेबल गरिएको हो । त्यसमा झुक्याउने केही कुरा छैन ।”

एमाले अध्यक्ष ओलीसँग गम्भीर रुपमा कुराकानी भएको भन्दै उहाँले देशलाई समझदारीका साथ अगाडि बढाउन सबै दल मिल्नुको विकल्प नभएको बताउनुभयो ।

अरु सबै विषयमा सहमति, सहकार्य गरेर निर्वाचनसम्म जाने विषयमा पनि कुराकानी भएको उहाँले बताउनुभयो । गृहमन्त्री अर्को कार्यक्रममा व्यस्त भएकाले सभामुखले कानुन मन्त्रीलाई प्रस्ताव पेस गर्न भन्नुभएको पनि उहाँले बताउनुभयो ।

दलहरुका बीचमा रहेको असहमति टुङ्गिने प्रक्रिया हिजोबाटै सुरु भएको पनि उहाँले बताउनुभयो । हिजै राष्ट्रपतिसँग तीन दलका प्रमुख नेताले लामो कुराकानी गरेको भन्दै प्रधानमन्त्रीले कुनै न कुनै उपाय खोजेर यो स्थितिलाई अगाडि बढाउने र निर्वाचनतिर देशलाई लैजाने भन्ने सहमति भएको बताउनुभयो ।

अर्को फरक प्रश्नमा प्रधानमन्त्री दाहालले पहिले झैँ बीचैमा आफूले नछाड्ने बताउनुभयो । आफू कति महिना प्रधानमन्त्री हुने भन्ने विषय नभएको भन्दै उहाँले भन्नुभयो–“महिनासँग यो सम्बन्धित छैन, कामसँग सम्बन्धित छ । तर म सहमतिभन्दा बाहिर जान्नँ ।”

आफू रिबन काट्नमात्रै नहिँडेको बताउँदै उहाँले भन्नुभयो – “मेलम्चीबाट सुरु गरेको यात्रा हिल्सा र किमाथान्कादेखि देशका चारवटै कुनामा पुगेको छु । दोधारा चाँदनीको सुख्खा बन्दरगाहादेखि झापाको धानको सुपरजोन बनियानी हुँदै थाप्लेजुङको पाथीभरासम्म गएको छु ।”

उहाँ चितवन महोत्सवलगायतका कार्यक्रममा सहभागी हुन आउनुभएको हो ।

झुक्याएर संशोधन प्रस्ताव टेबुल गरियो : नेपाल