एमालेलाई आन्तरिक विवाद सल्टाउन सकस

6अरू दललाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौँ जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौती छ । यो खबर हामीले आजको गोरखापत्रमा लक्की चौधरीले लेखेका हुन्।
पार्टीको विवाद टुङ्गो नलाग्दासम्म उम्मेदवारको टुङ्गो लाग्न नसक्ने नेताको बुझाइ छ ।

एमाले काठमाडौँमा करिब सात वर्षदेखि जिल्ला अधिवेशन हुन सकेको छैन । काम चलाउ कार्य समिति गठन गरेर पार्टीको आन्तरिक काम भइरहेको छ । स्थानीय तहको निर्वाचनका लागि महानगरपालिकाको प्रमुख, उपप्रमुखसहित अन्य उम्मेदवारको टुङ्गो लगाउने बेलामा पार्टी आन्तरिक झमेलामा फसेपछि उम्मेदवार टुङ्गो लगाउने विषय पनि ओझेलमा परेको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन् ।

‘यो झमेला कायमै रहे अब आउने निर्वाचनमा त्यसको नकारात्मक असर पर्छ,’ उनले भनिन् ।
चैत २८ गते बसेको एमाले स्थायी कमिटी बैठकले काठमाडौँको आन्तरिक समस्या समाधानका लागि उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेल सदस्य छन् ।

समितिले आन्तरिक विवाद सल्टाउने गरी छलफल सुरू गरे पनि अहिलेसम्म टुङ्गो नलागेको उपाध्यक्ष शाक्यले जानकारी दिइन् । ‘प्रमुख दुई गुटको आन्तरिक समस्याले काठमाडौँमा विवाद बढेको हो, नेताहरूको सीधै हस्तक्षेप रहँदासम्म यो समस्या समाधान हुन गाह्रो छ,’ उनले भनिन् । गुटगत राजनीति त्याग्ने नीति पार्टीले लिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनले बताइन् ।