एमालेलाई लाग्यो निर्वाचन आयोगको नियतमाथि आशंका

नयाँ सरकार गठनमा भैरहेको विलम्बलाई लिएर नेकपा एमालेले निर्वाचन आयोगले कतैको दवावमा परेर काम गरिरहेको आशंका भएको बताएको छ ।

एमालेले आयोगले ‘कतैको दबाब’मा परेर प्रतिनिधिसभाको निर्वाचन परिणाम रोकेर राखेको आशंका गर्दै उसको नियतमाथि आशंका उब्जिएको बताएको हो । निर्वाचन आयोगले भने राष्ट्रियसभा निर्वाचनपछि मात्र समानुपातिक सिट बाँडफाँट गर्ने तयारी गरेको छ ।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजा सार्वजनिक नगर्नु ताजा जनादेश अनुरुप नयाँ सरकार गठनमा सत्तापक्ष र आयोग असहयोगी भूमिकामा प्रस्तुत भएको बताएको छ ।

एमाले स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङका अनुसार आयोगका कर्मचारी संयन्त्रले प्रक्रिया बमोजिम सिटहरु बाँडफाँड लगायत सम्पूर्ण दस्ताबेज प्रमुख आयुक्त र आयुक्तहरुलाई एक हप्ता दिनअघि नै बुझाइसकेको भए पनि आयोगले रोकेर राख्दा आशंका बढेको बताउनुभएको हो ।

नेम्वाङले समानुपातिक सिट वितरणसँगै सम्पूर्ण निर्वाचन परिणाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रपतिलाई बुझाउनुपर्नेमा आयोगले आलटाल गरिरहेको बताउँदै तत्काल प्रतिनिधिसभाको सबै परिणाम घोषणा गरेर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभएको छ ।

नेम्वाङले प्रधानमन्त्री शेरवहादुर देउवा अझै दुई चार महिना आफ्नो सत्ता लम्ब्याउने खेलमा लागेको आरोप समेत लगाउनुभएको छ । आयोगको कार्यसूची अनुसार नयाँ सरकार गठन हुन अझै साढे दुई महिनाभन्दा बढी समय लाग्नेछ ।

सरकार गठनपछि मात्रै पार्टी एकताः नेता पण्डित