एमालेले निर्वाचनका लागि पार्टी कार्यकर्ता परिचालन गर्ने

नेकपा एमालेले आफ्नो नेतृत्वको सरकारले प्रस्तुत गरेका नीति, कार्यक्रम तथा बजेट र आगामी निर्वाचन तयारीका लागि कार्यकर्ता  परिचालन गर्ने भएको छ ।

पार्टीको जारी स्थायी समिति बैठकले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतले संविधानको कार्यान्वयन र तहगत निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक स्थायित्वमार्फत मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्न संसदमा सशक्त र प्रभावकारी भूमिका खेल्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय, धुम्बाराहीमा बुधबार बसेको बैठकमा अघिल्लो सरकारको समीक्षा, नयाँ गठबन्धन र पार्टीका आगामी कार्यभारका बारेमा धारणा राख्नेक्रम जारी छ ।

बुधबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव गोकर्ण विष्ट, सचिव योगेश भट्टराई, नेता शंकर पोखरेल र मुकुन्द न्यौपानेले आ–आफ्ना धारणा राखेका छन् ।

बैठकमा विगत सरकारले राष्ट्र र जनताका पक्षमा गरेका सकारात्मक कामको व्यापक प्रचारप्रसार गर्दै कमजोरीबाट शिक्षा लिएर पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउँदै आगामी निर्वाचनको प्रतिस्पर्धामा बहुमत हासिल गर्न स्पष्ट नीति र योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

यो पनि पढ्नुहोस्

एमालेमा वाम गठबन्धन भत्किएकोमा बहस