एमालेले गर्दा संविधान संशोधन प्रस्ताव दर्ता हुन ढिला : कांग्रेस

morcha-deuba

नेपाली कांग्रेसले संविधान संशोधन प्रस्ताव दर्ता गर्न नेकपा एमाले सहमतिमा नआएका कारणा ढिला भएको आरोप लगाएको छ ।

बुधबार साँझ मधेशी मोर्चासहितको संयुक्त गठबन्धन र नेपाली काँग्रेसबीच भएको छलफलमा उसले त्यस्तो बताएको हो । उसले मोर्चाका नेताहरुलाई एमालेसँग सहमति लिन समय लागेकाले संशोधनको प्रस्ताव लैजान ढिलो भएको जवाफ दिएको र अब छिट्टै प्रस्ताव दर्ता गरिने विश्वास दिलाएको थियो ।

काँग्रेस संसदीय कार्यालय सिंहदरबारमा भएको बैठकमा काँग्रेस र गठबन्धनका नेताका अनुसार संविधानमा संशोधन गर्ने विषयमा सकारात्मक छलफल भएको र चाँडै संशोधनको प्रस्ताव दर्ता गर्ने सहमति भएको छ ।

उपप्रधानमन्त्री विमलेन्द्र निधिले गठबन्धनसँगको छलफल सकारात्मक भएको बताउँदै चाँडै सहमति गरेर संशोधनको प्रस्ताव दर्ता गर्ने सहमति भएको जानकारी दिनुभयो । बैठकमा गठबन्धनका नेताले काँग्रेसलाई संविधान संशोधनको प्रस्ताव चाँडो दर्ता गराउन आग्रह गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धनका नेता तथा सङ्घीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता अशोककुमार राईले काँग्रेसका नेतासँग भएको छलफल सकारात्मक भएको र छिट्टै निष्कर्षमा पुगिने बताउनुभयो ।

यसअघि गठबन्धनले संविधान संशोधन प्रस्ताव दर्ताका लागि सरकारलाई १५ दिनको समयसीमा दिएको थियो । संविधान जारी भएसँगै गठबन्धनले प्रदेशको सीमाङ्कन, नागरिकता, भाषा आयोग लगायत विषयमा विमति राख्दै संशोधनको माग गर्दै आएको छ ।

संविधान संशोधनको नयाँ प्रस्ताव:‘अंगीकृत’ नागरिकले पनि संवैधानिक पद पाउने !