एमालेले दश हजार स्वयम् सेवकलाई तालिम दिने

आगामी २१ फागुनदेखि नेकपा एमालेले शुरु गर्न लागेको मेची–महाकाली अभियानमा दश हजार स्वयमसेवक परिचालन गर्ने जनाएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा शनिबार बसेको सचिवालय बैठकले स्वयमसेवकका लागि आवश्यक तालिम र प्रशिक्षण दिने निर्णय गरेको छ ।

अभियानलाई व्यवस्थित र सुरक्षित राख्न तालिम दिन लागेको एमालेले जनाएको छ । बैठकले अहिलेसम्म भएको तयारीबारे समेत समिक्षा गरेको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सात वटै प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र र मातहतका कमिटीसहित सवै जनसंगठनको बैठक बसेको छ । यी बैठकहरुले अभियानको तयारीबारे छलफल गरेको उनले बताए ।

अभियानबारे घरदैलो कार्यक्रम, पर्चा तथा अपिल वितरण, प्रचार र खानेबस्नेबारे समेत तयारी भइरहेको बैठकमा समिक्षा भएको छ । अभियानमा परिचालित हुनेहरुका लागि पार्टीका शुभचिन्तक र नेताहरुको घरमा राख्ने तयारी एमालेले गरेको छ । स्वयमसेवक, स्वस्थ्यकर्मी, कलाकार र सञ्चारकर्मीको टोली समेत अभियानमा स्थायी रुपमा खटाइने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा हुने अभियानमा सामेल हुने बरिष्ठ नेताहरु, सांसददेखि जिल्ला तहका नेताहरु समेतगरी एक हजारको स्थायी टोली हुने सचिवालय बैठकले अनुमान गरेको छ । संविधान कार्यान्वयनमा दबाव दिन र ओली नेतृत्वको सरकारले ल्याएको कार्यक्रमको प्रचार गर्न भन्दै एमालेले मेचीदेखि महाकालीसम्म अभियानको आयोजना गरेको छ ।