एमालेले हार्ने गरी स्थानीय तह थप गरिएको ओलीको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमालेले हार्ने गरी सरकारले संविधान विपरीत स्थानीय तहको सङ्ख्या वृद्धि गरेको भन्दै विरोध जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको सरकारसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेले निर्वाचनको बीचमा संविधान विपरीत स्थानीय तहको सङ्ख्या वृद्धि गरिएको आरोप लगाएको हो ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानको कुन धारा वा दफा प्रयोग गरी स्थानीय तहको सङ्ख्या थपिएको हो भनी प्रश्न गर्नुभयो ।

विगतमा आफ्नो दलले विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउने प्रस्ताव गर्दा अन्य दलले नमानेको स्मरण गराउँदै अध्यक्ष ओलीले एमालेले हार्ने गरी स्थानीय तह थप गरिएको आरोप लगाउनुभयो । निर्वाचनका बीचमा यही जेठ १५ मा ल्याइने बजेटमा कुनै नयाँ कार्यक्रम ल्याउन नहुने र करको दायरामा फेरबदल गर्न हुँदैन भन्दै उहाँले सबैलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्नुभयो ।

बैठकपछि उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैलाई सहभागी गराउन संविधान र राजनीतिक सहमतिका आधारमा स्थानीय तहको सङ्ख्या थप गरिएको बताउनुभयो ।

आफ्नो नेतृत्वको समितिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसमेत उपस्थित बैठकको सहमतिका आधारमा झापादेखि कञ्चनपुरसम्म स्थानीय तह सङ्ख्या थपिएको स्पष्ट पार्दै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले भन्नुभयो – “यो निर्णय मुुलुकको राजनीतिक सहमतिका लागि महत्वपूर्ण हुनुका साथै यसले निर्वाचनमा सबैको सहभागिता सुनिश्चत गर्नेछ ।”

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय गच्छदार र कृष्णबहादुर महरा, काँग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा रामशरण महत, एमाले अध्यक्ष ओली, नेता माधवकुमार नेपाल, उपमहासचिव विष्णुप्रसाद पौडेललगायत उपस्थित हुनुहुन्थ्यो ।