एयपोर्टका कर्मचारीले देशको इमेज बिग्रने गरी पर्यटकसँग व्यवहार गर्नुभएन

प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने काम बन्द गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई बुधबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विमानस्थलका कर्मचारीलाई दम्भ नदेखाउन आग्रह गर्दै नियम कानुनभन्दा बाहिर गएर व्यबहार गर्ने गर्दा पर्यटकहरुले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने बताउनुभयो ।

नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवेहारमा सुधार ल्याउनुपर्ने बताउँदै प्रधानमन्त्री ओलील सबभन्दा पहिला एयरपोर्टका अधिकृतहरुलाई तालिम दिनु पर्दछ । उनीहरुलाई दम्भ छोड भन्नुपर्छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले एयरपोर्टमा नेपालको बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो भन्दै देशको इमेज बिग्रने गरी पर्यटकसँग व्यवहार गर्नुभएन भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले भ्रमण बर्षको तयारीका लागि सबै क्षेत्रलाई जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसहरुलाई पर्यटकमैत्री व्यवहार गर्न सिकाउनुपर्ने निर्देशन दिनुभयो ।

नेपाल भ्रमण वर्षलाई खुसीको खबर- काठमाडौं विश्वमा घुम्न लायक पाँचौं शहर