एयरपोर्टमा पुर्याउन र लिन जान नपाइने

हवाई भाडा फिर्ता

काठमाडौंमा भोलि बुधबारदेखि सुरु हुने बिमिस्टेक सम्मेलनको सुरक्षालाई ध्यानमा दिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु बाहेक अरुलाई प्रवेश निषेध गरिएको छ ।

विमानस्थल विमानस्थल प्रशासनले एक विज्ञप्ति जारी गरी विमानस्थलमा एक्लै जान सक्षम रहेका व्यक्तिलाई साथमा अन्य आफन्त तथा साथीभाइ लिएर नआउन आग्रह गरेको छ ।

होटल, ट्राभल लगायतका गाडीलाई पनि ५ देखि १० मिनेटभित्र यात्रु लिएर विमानस्थलबाट गइसक्नुपर्ने नियम बनाइएको छ ।

विज्ञप्ति अनुसार एक्लै जान असक्षम रहेका यात्रुले एकजना मात्र सहयोगी भित्र लिएर जान सक्नेछन् । विमानस्थलमा प्रवेश गर्ने यात्रुको गोल्डेन गेटमै कडा सुरक्षा जाँच गरिनेछ । अत्यावश्यक कारणले भित्र प्रवेश गरेका व्यक्तिले पनि १०-१५ मिनेटभित्रै विमानस्थल छोड्नुपर्ने छ ।

त्यसै गरी भडाका ट्याक्सीलाई पनि विमानस्थलको गोल्डेन गेटभित्र प्रवेश गर्न पनि निषेध गरिएको छ । निजी सवारी लिएर जानेले पनि यात्रु छाडेर सिधै फर्किनुपर्नेछ ।

विमानस्थलभित्र प्रवेश अनुमति पास भएकाहरुको हकमा यो नियम लागू नहुने विमानस्थलले जनाएको छ ।