एयर एसियाले बुझाएको साढे ११ करोड हरायो

एयर एसियाले बुझाएको साढे ११ करोड हरायो

मलेसियाको एयर एसियाले नागरिक उड्डयन प्राधिकरणलाई करिब ४० करोड रुपैयाँ बक्यौताबापत बुझाएको १२ वटा चेक बाउन्स र १० वटा हराएको रहस्य खुलेको छ । ती चेकको कुल रकम ११ करोड २९ लाख ७७ हजार ६ सय ९५ रुपैयाँ छ ।

नेपाली कामदारलाई लक्षित गर्दै ६ वर्षअघि क्वालालम्पुर–काठमाडौं–क्वालालम्पुर रुटमा सस्तो भाडादरमा वाइडबडी विमान उडान थालेको एयरलाइन्सले त्रिभुवन विमानस्थलमा २०६९ देखि ०७४ सम्म अवतरण (ल्यान्डिङ), पार्किङ (बिसान), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, भाडासहितको २७ करोड र विलम्ब शुल्क १३ करोड गरी कम्तीमा ४० करोड रुपैयाँ तिर्न बाँकी थियो ।

यो रकममध्ये एयर एसियाका तर्फबाट त्रिभुवन विमानस्थलमा बुझाइएको २२ वटा चेकको रकम हराएको जानकारी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले दिए । एयर एसियाका तर्फबाट ११ करोड २९ लाख रुपैयाँबराबरका २१ वटा चेक विमानस्थलको अर्थ महाशाखा र राजस्व शाखामा बुझाएको देखिन्छ । विमानस्थलको खातामा भने जम्मा भएको देखिँदैन ।

प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनअनुसार यी चेक ०७३ वैशाखदेखि ०७४ कात्तिकसम्मको मितिमा जारी गरिएका छन् । ‘यीमध्ये ७ करोड रुपैयाँबराबरको चेक बुझिलिएको देखिन्छ तर विमानस्थलको खातामा रकम जम्मा भएको देखिँदैन,’ महानिर्देशक गौतमले भने । यो काण्डमा एयर एसियाको स्थानीय जनरल सेल्स एजेन्ट (जीएसए) इन्सेन्टिभ गु्रप अफ कम्पनी संलग्न रहेको देखिन्छ । यो कम्पनीका सञ्चालक पर्यटन व्यवसायी हरिमान लामा लामो समयदेखि सम्पर्कविहीन छन् ।

यसैबीच प्राधिकरणले बेलैमा रकम असुल नगरेको भन्दै तत्कालीन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायलाई प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको छ । त्यसअघि विमानस्थलको अर्थ महाशाखा प्रमुख थीरबहादुर खत्री र राजस्वका महेशकुमार शाहीलाई कारबाहीस्वरूप मुख्यालयमा तानिएको महानिर्देशक गौतमले बताए ।

शाही र खत्रीपछि उपाध्यायलाई ०७४ माघमा प्राधिकरणमा तानिएको थियो भने उनको स्थानमा राजकुमार क्षत्रीलाई पठाइएको थियो । आन्तरिक छानबिन प्रतिवेदनअनुसार चेक बुझिलिने कर्मचारीहरू मीनप्रसाद खनाल, रेनु रेग्मी, लिजा मानन्धर, अन्जु थापा, सुस्मिता पण्डितलगायत पनि अनुसन्धानमा तानिएका छन् ।

महानिर्देशक गौतमले यसलाई गम्भीर अपराध भन्दै प्रमाणित भएपछि संलग्नलाई फौजदारी अभियोगमा कारबाही हुने बताए । एयर एसियाले नेपालको उडान असोजदेखि बन्द गरिसकेको छ । बक्यौता रकम उठाउन बिहीबार प्राधिकरणका महानिर्देशक गौतमले विमानस्थलका महाप्रबन्धक क्षत्रीलाई काठमाडौंस्थित मलेसियाली दूतावास पठाएका थिए ।

एयर एसियाका तर्फबाट एजेन्ट लामाले बुझाएका चेक प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, सेन्चुरी, ग्लोबल आईएमई बैंकका छन् ।

आजको कान्तिपुरमा खबर छ ।

सेवा शुल्क बक्यौता तिर्न एयर एसियाको आनाकानी