एलिजाबेथका अधुरा सपना

इलिजाबेथका अधुरा सपना

पर्वतारोहणमा त्यतिका काम गरिन्, एलिजाबेथ हवलीले । उनको मुख्य सपना भने अधुरै रह्यो । नेपालमा पर्वतारोहणसम्बन्धी चार सयभन्दा बढी तथ्यांक संकलन गरी जीवनको अन्तिम समयमा नेपाल सरकारलाई सुम्पिने उनको सपना साकार भएन ।

पर्वतारोहणकी डाटाबेस नामले चिनिने उनको काठमाडौंको कपुरधारास्थित सिवेक अस्पतालमा ९५ वर्षको उमेरमा शुक्रबार निधन भयो ।नेपालको पहिलो अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक एवं नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष सुनारबहादुर गुरुङसँग उनले तथ्यांक संकलनकै क्रममा जीवनको अन्तिम कार्य सरकारलाई बुझाउने भनेकी थिइन् ।

हिमालै हिमालको देश भनेर चिनिएको नेपालमा उनी अमेरिकाबाट प्रकाशित ‘टाइम्स एन्ड लाइफ’ म्यागेजिनका लागि पर्वतारोहणसम्बन्धी रिपोर्टिङ गर्न ६० वर्षअघि आएकी थिइन् । उनी ‘रोयटर्स’ र ‘टाइम’ मिडियामा पनि आबद्ध थिइन् । उनले हिमालमै पुगेर रिपोटिङ गर्ने क्रममा वास्तविक तथ्यांक नपाएपछि ६ दशकदेखि नै ‘हिमालयन डाटाबेस संस्था’ स्थापना गरी तथ्यांक संकलन सुरु गरेकी थिइन् ।

पर्वतारोहण क्षेत्रको तथ्यांक राख्दै जाने क्रममा उनले ‘पर्वतारोहण बैंक’को उपनापसमेत पाएकी थिइन् । हवलीको निधनप्रति शोक व्यक्त गर्दै पर्वतारोहीहरूले हिमालको एउटा ‘खम्बा’ गुमाउनुपरेको बताएका छन् ।

विश्वभरका हिमाल आरोहणको तथ्यांकमा उनले विश्वका चर्चित र कीर्तिमानी आरोहीको विवरण, आरोहण गरिएका हिमालको महत्वपूर्ण विवरणदेखि आरोहणका लागि तय गरिएका योजना, आरोहण गाइड, आरोही र आरोहण दलका सदस्यको पूर्ण जानकारी, आरोहणको अवधि, अवस्था र आरोहण सम्पन्न भए/नभएको पुष्टि, मौसमको अवस्थालगायत सम्पूर्ण जानकारी राख्दै आएकी थिइन् । उनले नेपालको तर्फबाट मात्र नभई सबै क्षेत्रबाट हिमाल आरोहण गरेको तथ्यांकसमेत राखेकी छन् ।

सबैभन्दा छिटो आठ घण्टा १० मिनेटमा पेम्बाछिरी शेर्पाले सगरमाथा आरोहण गरेको भने पनि उनले आरोहण नगरेको पुष्टि गरेपछि अदालतले पेम्बाछिरीको कीर्तिमान खारेज गरिदिएको थियो ।

सरकारले हिमाल आरोहणको अनुमति दिने र सफल आरोहणको तथ्यांक राख्दै आए पनि हवलीले यसखाले सम्पूर्ण जानकारी राखेर सरकारलाई सहयोग गर्दै आएकी पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले बताए । ‘पर्वतारोहण क्षेत्रको सम्पत्ति गुमेको छ, हामी दुःखी भएका छौं,’ उनले भने, ‘ सन् १९६९ देखि चिनजान भएपछि उनी हिमालमै रहेर नेपालको पर्वतारोहणसम्बन्धी तथ्यांक राख्दै आएकी थिइन् ।’ उनले सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालुलगायत विश्वका आठ हजारभन्दा अग्ला १६ हिमाल र चारभन्दा बढी साना हिमाल आरोहणसम्बन्धी तथ्यांक संकलन गर्दै आएकी थिइन् ।

आरोहणअघि आरोही, गाइड, शेर्पा र आरोहण दलका सदस्यको जानकारी लिने र आरोहण सम्पन्नपश्चात् पनि जानकारी लिएर वास्तविक अनुभवसहितको विवरण राखी पर्वतारोहीलाई सहयोग पुर्‍ याउँदै आएको शेर्पाले बताए । सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सगरमाथा आरोहण गर्दा शेर्पाहरूले सरकार र शेर्पाकै रूपमा सहयोग गरेको शेर्पाले पुष्टि गरे ।

नेपालका ठूला हिमाल आरोहणको मात्र जानकारी हुने गरेको र साना हिमालको तथ्यांक संकलनमा कसैले चासो नदेखाएपछि उनले यो अभियान सुरु गरेकी थिइन् । उनले आरोहणको मिति, आरोही, त्यस अवस्थाको मौसम, आरोहण अवस्थाजस्ता विषयको जानकारीसमेत आरोहणमा संलग्न व्यक्तिसँगै भेटेर लिने गरेकी थिइन् । तर, अन्तिममा राज्यले खरिद नै गर्न नसक्ने यी महत्वपूर्ण जानकारी उनले नेपाल सरकारलाई हस्तान्तरण गर्न भने पाइनन् ।

सन् १९२३ मा जन्मिएकी हवली ३७ वर्षको उमेरदेखि नेपालमै रहेर काम गर्दै आएकी थिइन् । पर्यटन विभागमा विवादास्पद रहेको रेकर्डसमेत प्रमाणसहित यथार्थ बुझाई उनले केही मुद्दा छिनोफानोमा समेत सहयोग पुर्‍ याएकी नेपाल पर्वतारोहण संघका सचिव टीकाराम गुरुङले बताए ।

विश्वभरका हिमाल आरोहणसम्बन्धी तथ्यपूर्ण जानकारी उनीबाहेक अरूसँग नभएको समेत उनले दाबी गरेकी थिइन् । शनिबार अमेरिकाबाट उनको आफन्त विली आएपछि उनको अन्त्येष्टि गरिने गुरुङले बताए ।

उनी नेपाल आएदेखि नै काठमाडौंको डिल्लीबजारस्थित एक घरमा बस्दै आएकी थिइन् । पहिलो सगरमाथा आरोही एडमन्ड हिलारी उनको मिल्ने साथी भएकाले नेपाल आउँदा उनी बसेकै घरमा हवली बस्ने गरेको पर्यटन व्यवसायी बताउँछन् । नेपालका लागि न्युजिल्यान्डकी अवैतानिक वाणिज्य दूतसमेत रहेकी उनको सन् १९८८ देखि २००७ सम्म नेपालबारे लेखिएका सामग्री संकलन गरी तयार पारिएको ‘द नेपाल सिन’ नामक पुस्तक प्रकाशित छ ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

पर्वतारोहणकी अध्येता अमेरिकी नागरिक एलिजाबेथ रहिनन्