एशियाडमा रजत पदक जित्न सफल प्याराग्लाइडिङ टिमलाई पोखरामा स्वागत गरिने

एशियाली खेलकुद

इण्डोनेसियामा हालै सम्पन्न १८ औँं एशियाली खेलकूदमा रजत पदक विजेता प्याराग्लाइडिङ टिमलाई भोलि (मङ्गलबार) गण्डकी प्रदेशको राजधानी पोखरामा भव्य स्वागत गरिने भएको छ । सो एशियन खेलकूदमा पोखराबाट प्याराग्लाइडिङ खेलमा नेपालको प्रतिनिधित्व गर्दै रजत पदक हासिल गर्न सफल टिमलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति र जिल्ला खेलकूद विकास समिति कास्कीले भव्य स्वागतका साथै सम्मान गर्ने भएको हो ।

सो अवसरमा खेलाडीलाई पोखरा विमानस्थलबाट नै बाजागाजा साथै नगर परिक्रमा गराई पोखरा रङ्गशाला पुगेर सम्मान गर्ने कार्यक्रम रहेको क्षेत्रीय खेलकूद विकास समितिका कार्यबाहक अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी गराउनुभयो ।

पोखरामा हुने नगर परिक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलाडी, पर्यटन व्यवसायी, उद्योगी, खेलकूद सङ्घका पदाधिकारी, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी र खेलप्रेमी पोखरेलीको सहभागिता रहने बताइएको छ । सो कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्यसचिव केशवकुमार विष्टको समेत सहभागिता रहने बताइएको छ ।

नेपाललाई प्याराग्लाइडिङमा रजत पदक, २७ स्कोरले स्वर्ण जित्नबाट चुक्यो