एशिया कप क्रिकेट छनोट खेल खेल्न नेपाली टोली मलेसियातर्फ

तेस्रो अभ्यास खेलमा पनि नेपाल विजयी : कोल्ट्स पाँच विकेटले पराजित

एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज(सोमबार) मलेसियातर्फ प्रस्थान गरेको छ । एशिया कप छनोट खेल बुधबारदेखि मलेसियामा शुरु हुँदैछ ।

श्रीलङ्कामा एक साताको विशेष प्रशिक्षण र तीन अभ्यास खेल खेलेपछि टोली आज मलेसिया प्रस्थान गरेको नेपाली क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो । नेपालले श्रीलङ्कामा रहँदा त्यहाँका श्रीलंका आर्मी, कोल्ट्स र ब्लुमफिल्ड क्लबलाई पराजित गरेको थियो । नेपाल उच्च मनोबलका साथ मलेसिया जान लागेको सिवाकोटीले बताउनुभयो ।

एशिया कपको छनोट खेल नेपालसहित आयोजक मलेसिया, युनाइटेड अरब इमिरेटस् (युएइ), हङकङ, सिंगापुर र ओमानले खेल्ने छन् । नेपालले छनोट खेल ओमानसँग भदौ १३, युएइसँग भदौ १४, मलेसियासँग भदौ १६, सिंगापुरसँग भदौ १७ तथा हङकङसँग भदौ १९ गते खेल्नेछ । उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नुका साथै विजेता टोलीले एशिया कपमा सहभागिता जनाउने छ । सो प्रतियोगिता भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुनेछ ।

एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, करण केसी, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुसन भारी छन् ।

एशिया कप खेल्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली श्रीलङ्का प्रस्थान