एशिया कप छनोटमा नेपालको पहिलो जित : मलेसिया १९ रनले पराजित

नेपाल

एशिया कप छनोट क्रिकेटअन्तर्गत तेस्रो खेलमा नेपाल विजयी भएको छ । शनिबार भएको निकै रोमान्चक खेलमा मलेसिया नेपालसंग १९ रनले पराजित भयो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाउदै १८८ रन बनायो ।

खेल शुरु हुनुअघि बिहान पानी परेपछि खेल खेल शुरु हुन ढिला भएपछि खेल ३० ओभरमा झारिएको छ । यही भदौ १३ गते भएको छनोटको पहिलो खेलमा ओमन र १४ गते भएको दोस्रो खेलमा नेपाल पराजित भइसकेको छ ।

सुरुवात निकै खराब प्रदर्शन गरेको नेपालको पारी दिपेन्द्र सिंह ऐरी र मोहम्मद आरिफ शेखले सम्हालेका थिए । दिपेन्द्र र आरिफले छैठौं विकेटको लागि १०१ रनको शतकीय पारी खेलेका थिए । ५१ बल खेलेका दीपेन्द्रले ६ चौका र १ छक्काको मद्दतमा ५४ रन बनाए भने ४८ बल खेलका आरिफले ५ चौका र दुई छक्काको मद्दतमा ६४ रन बनाउदै अविजित रहे ।

यसैगरि बसन्त रेग्मी ६ रनमा अविजित रहदा अनिल कुमार साह १६, कप्तान पारस खड्का १३, ज्ञानेन्द्र मल्ल ११, सुवास खकुरेल ९ रनमा आउट भए भने सोमपाल कामी खाता नखोली पेविलियन फर्के । मलेसियाको लागि स्याजरुल इदृसले र सर्भिन मुनियान्डीले समान ३-३ विकेट लिए भने मुहमद अन्वार्को भागमा १ विकेट रह्यो ।

नेपालले दिएको १ सय ८९ रनको लक्ष्य लिएर मैदान उत्रेको घरेलु टोली मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रनमात्र बनायो ।

मलेसियाका लागि मोहम्मद अनवरले ३४ रन बनाए भने सैद अजिज मुवारक ले ३४ रन जोडे । त्यस्तै अहमेद फैज नुरले २२ रन बनाई आउट भए भने भिरनदीपसिंह २१ बनाए। त्यस्तै मोहम्मद रम्लीले १३ रन बनाउनु बाहेक अन्य प्रदर्शन उल्लेखनीय रहेन । नेपालका बसन्त रेग्मीले३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेको भागमा समान २-२ विकेट रह्यो । त्यस्तै सागर पुन र दीपेन्द्रसिंह ऐरीले पनि समान १-१ विकेट लिए । खेलको म्यान अफ दि म्याच दिपेन्द्रसिंह ऐरी रहे । त्यस्तै आजै भएको अन्य खेलमा हंगकंगले युएईलाई र ओमानले सिंगापुरलाई पराजित गरेको छ ।

एशिया कप छनोटको शीर्ष दुईमा पुग्न नेपाललाई मलेसियाविरुद्ध जित्नै पर्ने दबाब थियो । पराजय व्यहोरेको खण्डमा नेपालको एशिया कप सपना सकिने थियो । नेपाल अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । अब नेपालले सिङ्गापुरसँग १७ र हङकङसँग १९ गते खेल्नेछ । यो जितसंगै मलेसियाविरुद्ध पछिल्लो छ  खेलमा नेपालले पराजय बेहोर्नुपरेको छैन ।

नेपालद्वारा मलेसिया सामू जितको लागि १८९ रनको लक्ष्य प्रस्तुत