एसइइ परीक्षामा सामेल दुई सेलिब्रेटी शान्ता र करिश्मा

हरेक वर्ष विद्यालयस्तरको अन्तिम परीक्षामा सामेलमध्ये केही यस्ता पात्र हुन्छन् जसका बारेमा सुन्दा हामीलाई अली अनौठो लाग्नसक्छ । यसपटकको एसइइमा नेपालका दुई चर्चित हस्तीहरु सामेल छन् जसको नाम नै चर्चाका लागि पर्याप्त छ ।

नेपाली राजनीतिमा एकाएक उदाएकी शान्ता चौधरी यसपटक एसइइ परीक्षामा सामेल छिन् । त्यस्तै नायिका करिश्मा मानन्धर पनि परीक्षामा सामेल भएकी छिन् । यी दुई हस्तीहरुको अध्ययन मोहले नेपाली समाजमा ठूलो प्रभाव पारेको छ ।

जीवनको उर्जाशील समय कमलरी बसेर पछि कमलरी मुक्त अभियानमा संघर्षशील नारी शान्ता चौधरी अनपढ भए पनि संविधानसभाको सदस्यमा मनोनित भएपछि उनको गतिविधिले चर्चा पाएको थियो ।

अध्ययन नभएकै कारण आफूलाई अरुले हेप्न थालेको महसुस गरेपछि उनले छोराछोरीसंग अक्षर चिन्न किसिन र छोटै समयमा पुस्तक नै प्रकाशन गर्न सफल भइन ।

अहिले चौधरी विद्यालयमा नियमित भर्ना भएर परीक्षामा सामेल भएकी छिन् । हाल प्रतिनिधि सभाका सांसद रहेकी चौधरीले दाङको तुलसीपुरस्थित मावि सेन्टर स्कुलबाट एसइई परीक्षा दिदैछिन् ।

त्यस्तै नायिका करिश्मा मानन्धर विद्यास्मारक विद्यालय डिल्लीबजार काठमाडौं केन्द्रबाट एसइइको पहिलो परीक्षा दिइन । उनी परीक्षा दिन उनी बा९च ४२६ नम्बरको गाडीमा परीक्षा केन्द्र पुगेकी थिइन् ।

४५ वर्षीया करिश्मा मानन्धरले केही वर्ष अघि विद्यालयमा भर्ना हुने घोषणा गरेर सबैलाई चकित पारेका थिइन ।

नाम, दाम, सम्मान सबै भए पनि अध्ययन जीवनको महत्व्पूर्ण पाटो हो भन्ने बुझेकी करिश्मा १४ वर्षको उमेरमा ८ कक्षामा पढ्दै गर्दा चलचित्रमा होमिएकी थिइन् । उनी मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा कक्षा ९ मा अध्ययन सुरु गरेकी थिइन् ।