एसइई प्रश्नपत्र सुरक्षा: एकपछि अर्को प्रश्नपत्र बाहिरिनुमा दोषी को

एसइई प्रश्नपत्र

प्रदेश नम्बर दुईमा बिहीवार र शुक्रवार अनिवार्य विज्ञान र सामाजिक शिक्षाको एसइई प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।प्रदेश नम्बर दुईमा बिहीवार र शुक्रवारको परीक्षा स्थगित गर्नुपर्ने गरि भएको उक्त घटनालाई लिएर त्यहाँको व्यवस्थापनको तीव्र आलोचना भएको छ।

परीक्षामा व्यवधान आएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्।नेपालमा संघीय संरचना कार्यान्वयनमा आएपछि पहिलोपटक प्रदेश स्तरबाट एसइइ परीक्षा लिइएको थियो।

प्रश्नपत्रको सुरक्षा
हरेक वर्ष झैँ यसपटक पनि प्रश्नपत्र बनाउने जिम्मा केन्द्र सरकारको रहेको छ।तर बनिसकेका प्रश्नपत्रको सुरक्षाको जिम्मा भने प्रहरी प्रशासनकै रहेको बताइएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले प्रश्नपत्र केन्द्रबाट सुरक्षित साथ लिएर आएको र प्रहरीकै सुरक्षा घेरामा प्रश्नपत्र राखिएको बताए।प्रहरीकै सुरक्षा घेरामा जिल्लामा रहेका परीक्षा समन्वय समितिले प्रश्नपत्र सुरक्षित रूपमा परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा पुर्‍याउने व्यवस्था छ।

परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि परीक्षा केन्द्रमा सबैको रोहबरमा खोल्ने प्रक्रिया साविक जस्तै यसपाली पनि थियो।त्यो प्रक्रियामा कुनै हेरफेर वा परिवर्तन नगरेको उनको भनाइ छ।

उनले भने, “राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरूको रोहबरमा उच्च सुरक्षाका साथ प्रश्नपत्र जिल्ला जिल्लामा ल्याइने र प्रहरीकै उच्च सुरक्षामा नजिकको प्रहरी चौकीमा पुर्‍याउने काम गरिने साविककै प्रक्रिया हाल पनि अपनाइएको छ।”

“कसैले जानी जानी यस्तो गरेको वा अन्जानमा भएको हो भन्ने विषयमा राष्ट्रिय परीक्षा बोर्डले सत्यतथ्य पत्ता लगाउन समिति गठन गरेको छ र आजभोली मै सत्य कुरा बाहिर आउनेमा म विश्वस्त छु ।”

कसको बदमाशी?
प्रश्नपत्र परीक्षा समय अगावै बाहिरिनुमा केन्द्रअध्यक्षको पनि बदमाशी हुन सक्ने आशङ्का गरिएको भए पनि अहिले नै भन्न सकिने अवस्था नरहेको उनले बताए ।

तर शिक्षा विकास तथा समन्वय निर्देशनालय प्रदेश नम्बर दुईका निर्देशक रमाकान्त शर्माका अनुसार स्थानीय तहदेखि केन्द्रीय तहसम्मको समन्वयमा एसइई परीक्षा संचालन गरिने प्रयास गरिएको थियो।

उनले प्रश्नपत्र ल्याइने प्रक्रिया बीचमै कुनै व्यक्ति विशेषको बदमाशीले प्रश्नपत्र बाहिरिएको र हालसम्म दुईवटा परीक्षा प्रदेश नम्बर दुईमा रद्द गर्नुपरेको बताए ।तर प्रश्नपत्र निर्माण र ढुवानी गर्ने प्रक्रियामा कुनै पनि बदलाव नभएकोले प्रदेश नम्बर दुईको यसमा कुनै दोष नरहेको उनले तर्क गरे।

विगतमा शान्तिपूर्ण रूपमा सम्पन्न हुने गरेको एसईई परीक्षामा यसपाली भने प्रदेश नम्बर दुईमा दुईवटा परीक्षा रद्द भइसकेको छ।

आक्रामक प्रदर्शन
चैत १४ गते अनिवार्य विज्ञान विषयको परीक्षा सम्पन्न भएपछि केही जिल्लामा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरिएको केही घण्टामै चैत १५ गते हुने सामाजिक शिक्षा विषयको प्रश्नपत्र समेत सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शुक्रवारको परीक्षा पनि रद्द गरिएको प्रदेश नम्बर दुईको सरकारले जनाएको छ ।

परीक्षा रद्द भएको विरोधमा विद्यार्थीहरूले बिहीवार दिउँसोदेखि नै आक्रामक रूपले प्रदर्शन गरेका छन्।प्रदेश नम्बर दुईको बारा, पर्सा, रौतहट, सर्लाही र सप्तरी लगायतका जिल्लाहरूमा प्रदर्शन भएका छन् । उनीहरूले प्रश्नपत्र बाहिरिएको जिल्लाहरूमा मात्रै परीक्षा रद्द गर्न माग गर्दै प्रदर्शनलाई शुक्रवारदेखि झन् उग्र रूप दिएका छन् ।

शुक्रवार बिहान परीक्षा दिन विभिन्न केन्द्र पुगेका विद्यार्थीहरूले परीक्षा रद्द भएको खबर सुनेपछि वीरगंजको विभिन्न कलेज, विद्यालयहरूमा तोडफोड गर्नुका साथै सडकमा गुडिरहेका सार्वजनिक तथा निजी गाडीहरूमा समेत तोडफोड गरेका छन्।तोडफोडको क्रममा कतिपय विद्यार्थीहरू घाइते समेत भएका छन् । प्रहरी र विद्यार्थीहरूबीच समेत केही समय तनाव बढेको थियो।

उक्त क्रममा प्रहरीले केही सेल अश्रु ग्यास र पानीको फोहोरा प्रहार गरेको एवं लाठी चार्ज समेत गरेको थियो ।यसअघि प्रदेश नम्बर दुईमा एसइई परीक्षालाई पहिले झैँ मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि प्रदेशको प्रत्येक परीक्षा केन्द्रमा चेकजाँचमा कडाइ गरिँदै आएको थियो ।

विद्यार्थीहरूले चिट नचोरुन् भन्ने उद्देश्यले परीक्षा हलको गतिविधि निगरानी गर्न ठाउँठाउँमा सिसिटीभी क्यामेरा जडान गरिएको थियो।

प्रदेश सरकारको प्रतिक्रिया
प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताएका छन्।

उनले लगातार प्रश्नपत्र आउट गराएर प्रदेश नम्बर दुईको बदनाम गर्न खोजिएको दाबी समेत गरे। परीक्षा प्रदेश सरकारले नभइ केन्द्र सरकारका निकायले नै गराएकाले उनीहरू नै जिम्मेवार हुने मुख्यमन्त्री राउतको भनाइ छ।विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएकाले विद्यार्थीको प्रतिक्रिया स्वभाविक भएको राउतले बताए।

यस्तै पर्सा क्षेत्र नम्बर एकका सांसद प्रदीप यादवले संघीय सरकारकै चलखेलमा एसईई प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा अगावै बाहिरिएको आरोप लगाए। प्रदेश नम्बर दुईलाई बदनाम गराउने नियतले नै संघीय सरकारको षडयन्त्रमा प्रदेश नम्बर दुईमा मात्र प्रश्नपत्र बाहिरिएको भन्दै उनले संघीयतालाई बदनाम गराउने उद्देश्यले उक्त हर्कत गरिएको दाबी गरे।

एसइई प्रश्नपत्र

यस वर्ष २०७५ को माध्यमिक शिक्षा (एसइई) परीक्षा चैत्र १० गते आइतवारबाट सुरु भएको थियो। परीक्षा चैत २१ गते सकिनेछ।संघीय संरचना अनुसार पहिलोपटक भएको एसइइ परीक्षामा देशभरबाट करिब पाँच लाख परीक्षार्थी सहभागी भएका छन्।परीक्षाका लागि देशभर एक हजार भन्दा धेरै केन्द्र निर्धारण गरिएको बताईएको छ ।

प्रदेश नम्बर दुईमा यसपाली ७० हजार भन्दा धेरै परीक्षार्थीहरूले परीक्षा दिइरहेका छन्।

बीबीसी

एसइई परीक्षाको तयारी र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालयको अपिल