एसईई परीक्षाको नतिजा सार्वजनिक (नतिजा हेर्ने तरिकासहित)

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले बिहिबार दिउँसो नतिजा सार्वजनिक गरेको हो ।

भक्तपुरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक सो नतिजाको विस्तृत विवरण आउन बाँकी छ । गत चैतमा सम्पन्न परीक्षामा चार लाख ७५ हजार तीन विद्यार्थीले आवेदन दिएका थिए । कार्यालयले केही वर्षयता अक्षराङ्कन पद्धतिमा परीक्षाफल प्रकाशन गर्दै आएको छ ।

एसइइको नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् । यस्तै, टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन् ।

परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजाबारे जानकारी लिन सकिनेछ। नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ बाट पनि नतिजा थाहा पाउन सकिनेछ। राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट http://www.neb.gov.np/results बाट पनि नतिजाबारे जानकारी लिन सकिनेछ ।

संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

२०७५ साल चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।