एसएसबीको गोलीले एक नेपालीको मृत्यु, भारतीयले गरे नेपालीको घरमा लुटपाट (अपडेट)

kanchanpur-conflict

नेपाली भूमिमा बन्दैगरेको कल्भर्ट भारतीय भूमिमा पर्छ भनेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेपछि उत्पन्न झडपले बिहिबार उग्ररुप लिएको छ । सीमा क्षेत्रमा नेपाली र भारतीयबीच झडप भैरहँदा एसएसबीको गोली लागी एक नेपालीको मृत्यु भएको छ ।

कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र हस्तक्षेपको प्रतिरोधमा उत्रिएका नेपालीमाथि एसएसबीले गोली चलाउँदा स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ ।

दुवै तर्फबाट नाराबाजी भइरहँदा भारतीय सीमानामा रहेको सम्पूर्णानगर प्रहरी थानाका प्रहरी निरीक्षकले आफ्नै पेस्तोलबाट चलाएको गोली लागेर गौतमको मृत्यु भएको हो । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याइएको थियो । तर, चिकित्सकले मृत घोषणा गरे ।

बुधबारदेखि विवादका बीच साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरेपछि बिहिबार स्थानीयबासीहरु प्रतिरोधमा उत्रिएका हुन् ।

भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

यसैबीच सीमा क्षेत्रमा तनाव बडिरहेका बेला आनन्द बजारका स्थानीय नेपालीहरुको घरमा भारतीयहरुले लुटपाट गरेका छन् । स्थानीय श्याम गुरुङको पसलसमेत रहेको घरबाट भारतीयहरुले बिहीबार दिउँसो बाख्रा, खसीबोका, भाडाकुँडा र लत्ताकपडा समेत लुटेर लगेका छन् ।

गुरुङको टिनले छाएको कच्ची घरको छानामा रहेको टीनका पातासमेत उक्काएर लगेको प्रत्यक्षदर्शीको गुनासो छ । गुरुङको घरमा रहेको एउटा मोटरसाइकलसमेत भारतीयले लुटेर लगेको स्थानीयले बताए । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने आनन्द बजार क्षेत्रका अन्य घरहरुमा पनि एसएसबीसँगै छिरेका भारतीयहरुले तोडफोड गरेका हुन् ।

एसएसबीले गोली चलाएपछि नेपालीहरु तितरवितर भएको मौकामा भारतीयहरु श्याम गुरुङको घरमा प्रवेश गरेका हुन्ए ।

कल्भर्ट निर्माण रोकेपछि कञ्चनपुरमा नेपाली र भारतीयबीच झडप, दुईजना घाइते