एसपी र इन्स्पेक्टर कारबाही- हत्यारा बचाउने नाटक त हैन ?

एउटा बालिकाको बलात्कारपछि हत्या तीन महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । अपराधी पत्ता लाग्नुको साटो एकपछि अर्को गर्दै नाटक मञ्चन भैरहेको छ र एउटा नाटकका रुपमा प्रहरी अधिकारीमाथिको कारबाही हो ।

अनुसन्धानमा लापरवाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट सहित इन्स्पेक्टर जगदिश भट्टलाई सरकारले अयोग्य नठहरिने गरी पदबाट बर्खास्त गरेको छ । यो बर्खास्तगीले बलात्कृत भएर हत्या गरिएक पन्तको आत्माले शान्ति पायो कि पाएन ? पीडित परिवारले न्याय पाए कि पाएनन् ? प्रश्न यस्तै छ ।

पन्तको बलात्कार गरी हत्या गर्ने को हो भन्ने बास्तविकता पत्ता लगाउनुको साटो प्रहरी अधिकारीहरु कारबाहीमा परेका छन् । पन्तको हत्या अनुसन्धान प्रक्रियामा लापरवाही गरेको आरोप खेपेका उनीहरुले अपराधी नचिनेरै प्रमाण नष्ट पक्कै गराएनन् होला ?

प्रहरी अधिकारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी निलम्बन गरेपछि सरकारको अपराधी जोगाउने नौटंकीका रुपमा यसलाई बुझिएको छ । उनीहरुलाई अस्थायी निलम्बन गरिएको छ । यदि अपराधी लुकाउन भूमिका खेलेको भए त्यसको सत्यतथ्य पत्ता लगाउनु पथ्र्यो । उनीहरुबाटै अपराधी पत्ता लाग्थ्यो । तर, सरकार, प्रहरी प्रधान कार्यालयले यस विषयमा ध्यानै नदिई न्यायको खोजीमा रहेकाहरुलाई रमिते मात्र बनाएको छ ।

सरकारले दुई प्रहरी अधिकारीलाई निलम्बन गरेपछि धेरैतिरबाट यसको आलोचना भएको छ । वास्तविक दोषीलाई उम्काउन कारबाहीको नाटक गरिएको उनीहरुको टिप्पणी छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्दै दुई प्रहरी अधिकारीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो ।

हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी महीनौंसम्म पत्ता नलाग्नु कानूनी राज्यका लागि चुनौती बनेको छ, यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस्, बलात्कार र हत्यामा जोसुकै संलग्न भए पनि दोषीलाई कारवाही हुनुपर्ने माग उहाँको छ ।

निलम्बित प्रहरी अधिकारीद्वयले पनि आफूहरुले केही दिनमै बास्तविकता खोल्ने बताइरहेका छन् । उनीहरु आफ्नो निलम्बन फुकुवाका लागि अदालत जाने तयारीमा छन् । यदि उनीहरु नै पूर्णरुपमा दोषी हुन् र उनीहरुकै कारण अपराधी पत्ता नलाग्ने हो भने उनीहरुले सो काम कसको इशारामा गरे भन्ने अह सवाल छ र सरकारले यो खोतल्ने काम किन गरेन भन्ने आम जिज्ञासाको उत्तर छैन ।

त्यसैले त यो कामलाई श्राद्धमा बिरालो बाँधे जस्तो भयो भन्ने टिप्पणी पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गर्नुभएको छ । उहाँले प्रहरी अधिकारी बर्खास्त गर्दैमा राज्यको दायित्व पूरा नहुने भन्दै सत्य–तथ्य पत्ता लगाउन सरकारसँग माग गर्नुभएको छ । प्रमाण नष्ट गर्ने प्रहरी र बम दिदीबहिनीमार्फत् अपराधी पत्ता नलाग्नुबारे प्रश्न गर्दै भट्टराईले दबाव जारी राख्न सबैमा आग्रहसमेत गर्नुभएको छ ।

डा भट्टराईले जानीबुझी प्रमाण नष्ट गर्नु आपराधिक कर्म भएको भन्दै निर्मला पन्त बलात्कार तथा हत्याबारे गरिएको छानबिनलाई बिरालो बाँधेर गरिएको श्राद्धको संज्ञा दिनुभएको छ । उहाँले प्रहरी अधिकारीले नै अपराधी उम्काएको हो भने उनीहरुमाथि मुद्दा किन नलगाइएको भन्ने गम्भीर प्रश्न पनि उठाउनुभएको छ ।

एसपी बिष्ट र इन्स्पेक्टर भट्टले प्रमाण नष्ट गर्न भूमिका खेलेका हुन् भने उनले कसको दवाव, प्रलोभन वा निर्देशनमा सो काम गरे ? त्यो पत्ता लगाउनु आवश्यक थियो कि थिएन ? यदि प्रभावमै सो काम गरिएको हो भने त्यो प्रभावशाली व्यक्ति सत्तारुढ बाहेक अरु हुनै सक्दैन । दुई तिहाई बहुमतको सरकारको सुरक्षा निकायको एउटा जिल्ला प्रमुखलाई प्रभावित पार्नसक्ने हैसियत अरुको हुँदैन यतिबेला ।

गत साउन १० गते साथीको घरमा स्कुलको गृहकार्य गर्न गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको र उनको शव साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो ।