एसियाको प्रतिष्ठा जापानको हातमा : पोल्याण्डविरुद्ध बराबरी नै काफी

जापान

रसियामा जारी विश्वकप फुटबल अन्तर्गत जापानले आज (बिहिबार) तेस्रो खेल पोल्याण्ड विरुद्ध खेल्दै छ । समूह ‘एच’ मा रहेको जापानको समूहमा सेनेगल, पोल्याण्ड र कोलम्बिया रहेका छन् ।

जारी विश्वकपमा सहभागी भएका एसियाली राष्ट्र मध्ये नकआउट चरण पुग्ने सम्भावना अब जापानको मात्र बाँकी रहेको छ । एसियाली समूहबाट इरान, दक्षिण कोरिया, साउदी अरेबिया घर फर्किसकेका छन् ।

सो समूहको शीर्ष स्थानमा रहेका जापान र सेनगलको एक जित र एक बराबरी सहित समान ४ ४ अंक रहेको छ भने एक खेलमा जित र एक खेलमा हार व्यहोरेको कोलम्बियाको ३ अंक रहेको छ । त्यस्तै दुबै खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट लगभग बाहिरिसकेको पोल्यान्डले अंक जोड्न सकेको छैन ।

समूह चरणको अन्तिम खेलमा जापानले पोल्यान्डको र सेनेगलले कोलम्बियाको सामना गर्नेछ । यी टोलीको खेल साँझ पौने सात बजे सुरु हुनेछ ।कोलम्बियाविरुद्ध जित र सेनेगलसंग बराबरी खेलेको जापानलाई नकआउट चरणमा स्थान सुरक्षित गर्न बराबरी नै पर्याप्त रहनेछ ।

निश्चित जीत वा बराबरीका लागि जापानले गोलकिपर बदल्ने सम्भावना रहेको छ । जापानका पाका गोलकिपर ईजी कावाशिमाले जारी विश्वकपमा धेरै गल्ति गरेकाले उनको स्थानमा २३ वर्षीया कोसेक नाकुरारालाई पोल्याण्ड बिरुद्धका खेलमा गोल पोस्ट सम्हाल्ने सम्भावना रहेको छ ।

जापानको सम्भावना कति ?
पोल्यान्ड विरुद्ध जित हात पारे जापान अपराजित रहदै अन्तिम १६ मा पुग्नेछ भने हारेको खण्डमा अरुको नतिजामा भर पर्नुपर्नेछ । सेनेगलले कोलाम्बियालाई पराजित गरेमा जापान पराजित भए पनि उपविजेता बन्दै जापान दोस्रो चरणमा प्रवेश गर्नेछ ।

त्यस्तै सेनेगल र कोलम्बिया तथा जापान र पोल्याण्डले पनि बराबरी खेलेमा सेनेगल स्वतः अन्तिम १६ मा पुग्नेछ भने जापान भने गोल अन्तर र हेड टु हेडको आधारमा अघिल्लो चरण प्रवेश गर्ने वा नगर्ने विषयमा टुंगो लाग्नेछ ।

जापान

सन् २००२ को जापान र कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा समूह चरणमा हार नव्यहोरी अन्तिम सोह्रमा प्रवेश गरेको थियो ।