एसियाडको लागि गल्फ टोली थाइल्याण्ड प्रस्थान

गल्फ

इन्डोनेसियामा आयोजना हुने १८ औँ एसियाली खेलकूद (एसियाड) को थप तयारीका लागि नेपाल गल्फ टोली सोमबार थाइल्याण्ड प्रस्थान गरेको छ । आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिता तयारीका लागि गल्फ सङ्घका अध्यक्ष टासी घलेसहित चार खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड गएका हुन् ।

नेपाली गल्फ टोलीले एशियाडमा पुरुषतर्फ टिम इभेन्ट र एकलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले नेपाली गल्फले पछिल्लो समय निकै मेहनत गरको भन्दै सफलताको शुभकामना दिनुभयो । खेलाडीमा टङ्कबहादुर कार्की, शुक्रबहादुर राई, पृथ्वी मल्ल र अजित विक छन् ।