एसियाडमा नेपाल : खेल संख्या बढ्यो उपलब्धि झनै कमजोर

मैदान र रंगशाला नहुनुको अभाव खड्कियो जगत : विश्वकर्मा
खेलकुदमन्त्री

पहिला भन्दा खेलस्तर बढेको छ : केशव विष्ट
सदस्यसचिव, राखेप

-गोपी र कृष्णले दौड त्यागे, विश्वरूपाले दौडिन पाइनन्
-टेनिसको सूचीमा नभएका दुई खेलाडी
-उसु खेलाडी फुपु खेलअघि नै घाइते
-अन्तिम समयमा खेल्न खोज्दा कुमालले पनि दौडिन पाएनन्, यमसाजन नदौडी फर्किए
-बक्सिङले एक खेल पनि जितेन
-खेलकुद पदाधिकारी कसले परिवारका सदस्य लगे ?

एशियाली खेलकुद

नेपालले १८औँ एसियाडमा अघिल्लो संस्करण (इन्चोन एसियाड, २०१४) मा भन्दा ९ खेल बढायो । सहभागी खेल २९ पुर्याए पनि उपलब्धि निकै फितलो रह्यो ।

एसियाडमै पहिलोपटक सहभागी गराइएको प्याराग्लाइडिङले आफ्नै प्रयासमा नेपालको इज्जत राख्यो । राज्यबाट बढी लगानी भएका तेक्वान्दो, कराते, बक्सिङलगायतका खेलबाट उपलब्धि शून्य रह्यो ।नेपालले हरेकपटकको एसियाडलाई तामझामपूर्ण बनाउँछ । तर, अन्तर्राष्ट्रिय मञ्चमा प्रदर्शन कमजोर बन्दै गएको छ । खेलको स्तर सुधार्न सम्बन्धित निकाय अग्रसर भएको देखिँदैन ।

नेपालको खराब प्रदर्शन यात्रा गोपी र कृष्णले दौड त्यागे
जकार्ताको गर्मी सहन नसकेको भन्दै नेपालका धावक गोपीचन्द्र पार्की र कृष्णबहादुर महराले म्याराथन पूरा गरेनन् । ९ भदौमा मुख्य रंगशाला गेलोरा बुङकार्नोमा भएको प्रतिस्पर्धामा एथलेटिक्सले सुरुवातमा नै दौड पूरा नगर्दै नेपाललाई निराश बनायो ।

गोपीचन्द्र पार्की र कृष्णबहादुर बस्नेतले बीचमै दौड परित्याग गरे । गोपीचन्द्रले १ घन्टा ५१ मिनेट २० सेकेन्डमा ३० किमि र कृष्णबहादुरले २ घन्टा २३ मिनेट १३ सकेन्डमा ४० किमि दूरी पार गरेपछि दौड त्याग गरे । दुवैले जकार्ताको चर्को गर्मीका कारण दौड पूरा गर्न नसकेको बताए ।

दौडन पाइनन् विश्वरूपा
नेपाली टेक्निकल टोलीको गम्भीर लापरबाहीका कारण एथलेटिक्स खेलाडी विश्वरूपा बुढाले १० हजार मिटर दौडबाट वञ्चित हुनुप-यो । ९ भदौका लागि तय भएको प्रतिस्पर्धाको अन्तिम तयारी गरी दौडन ट्र्याकतर्फ लागेपछि मात्र विश्वरूपाले आफूले दौडन नपाउने जानकारी पाइन् । उनलाई आयोजकले ‘लेट इन्ट्री’का कारण देखाउँदै ट्र्याक प्रवेशमा नै रोक लगाएको थियो ।

नेपाली टोलीका प्रशिक्षक आमरी यादव र टिम म्यानेजर शान्ति सिंहले विश्वरूपालाई १० हजार मिटर दौडमा सहभागी गराउने सबै तयारी गराइसकेका थिए । विश्वरूपा पनि दौड ‘ज्याकेट’ लगाएर ट्र्याकतर्फ लागेकी थिइन् । तर, अफिसियलहरूले प्रारम्भिक लिस्टमा विश्वरूपाको नाम नदेखेपछि लेट इन्ट्रीको कारण देखाउँदै फिर्ता पठाएका थिए ।

प्राविधिक पक्षको गम्भीर गल्ती
प्रतियोगिता सुरु हुनुअघि टिम म्यानेजर, प्रशिक्षक र प्राविधिक टोलीबीच बैठक बस्छ । त्यही बैठकमा खेलाडीको नाम तलमाथि भए, नाम छ वा छैन भनी क्रस चेक हुने गर्दछ र बैठकभित्र नै गल्ती सच्याउनुपर्दछ । त्यसपछि भने मौका मिल्दैन । नेपाल सोही क्रस चेकमा चिप्लिँदा ठूलो प्रतियोगितामा नाम लिस्टेड भएर पनि सहभागिता जनाउन असफल भयो ।

टिम म्यानेजर, प्रशिक्षक र प्राविधिक टोलीबीचको बैठकमा नेपाली एथलेटिक्स टिमका म्यानेजर शान्ति सिंहलाई के–के गर्नुपर्छ भन्ने हेक्कासमेत भएन । ओलम्पिक र परिषद्ले पठाएको लिस्ट उनले भेरिफाई गरिनन् । १० हजार मिटर दौड सुरु हुनु ५ घन्टाअघि नै विश्वरूपाको नाम एसियाडको अफिसियल वेभसाइटमा नहुँदा पनि उनले कुनै जानकारी लिन आवश्यक ठानिनन् । वेभसाइटमा उल्लिखित नामका खेलाडीले मात्र भाग लिन पाउँछन् । यसकारण विश्वरूपा ट्र्याकमा छिर्नुअघि नै खेल्न नपाउने पक्का भइसकेको थियो । तर, पदाधिकारीलाई भने त्यसको सुँइको थिएन ।

एनओसीका प्रमुख कार्यकारी सचिव सुजनलाल श्रेष्ठले आफ्ना तर्फबाट गल्ती नभएको भन्दै प्राविधिक गल्ती औँल्याएका थिए । टिम म्यानेजर शान्तिले आफूहरूलाई ढिलो इन्ट्री भएको जानकारी आएको बताइन् । तर, उनले कसले ढिला इन्ट्री ग-यो भन्नेबारे भने आफूहरूलाई थाहा नभएको जवाफ दिइन् ।

अन्तिम समयमा खेल्न खोज्दा कुमालले पाएनन्
नेपालबाट ८०० मिटरमा सहभागी हुन जकार्ता पुगेका सोमबहादुर कुमाललाई अन्तिम समयमा ४ सय मिटर दौडाउन खोजियो । पदाधिकारीले जबर्जस्ती दौडाउन खोजे पनि सफल भएनन् । अन्तिम समयमा ४ सय मिटरमा कुमाललाई दौडाउन खोज्नु पदाधिकारीको अर्को गल्ती रह्यो ।

यमसाजन नदौडी फर्किए
२ सय मिटरको चौथो हिटमा यमसाजन सुनारको नाम थियो । तर, उनी अस्वस्थताको कारण देखाउँदै प्रतियोगितामा सहभागी भएनन् । मेडिकल रिपोर्ट नआउँदै सदस्य–सचिव केशव विष्टलाई लिखित जवाफ दिएर सुनार नेपाल फर्किए ।

यमसाजनको नाम स्क्रिनमा ६ सय ४१औँ नम्बरमा देखाइएको थियो । तर, उक्त नम्बरको खेलाडीले खेल्न नसक्ने जानकारी दिइयो । टिम म्यानेजर शान्तिले यमसाजनको स्वास्थ्यमा समस्या आएकाले खेल्न नसक्ने जानकारी दिइन् । सुनारले त्यसअघि पुरुष सय मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।

बक्सिङले एक खेल पनि जितेन
सन् २०१० को ग्वाङझाउ एसियाडमा दीपक महर्जनले कांस्यपदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको बक्सिङका खेलाडीले जकार्ता एसियाडमा सोचेभन्दा फितलो प्रदर्शन गरे । नेपालबाट सहभागी आठै खेलाडीले एकपटक पनि विपक्षी खेलाडीलाई हराउन सकेनन् । जकार्तामा नेपालबाट १ मात्र अंक बटुल्ने खेलाडी तेजबहादुर देउवा रहे । उनले ४६–४९ केजी तौल समूहमा लाओसका खाम्पोभानविरुद्ध १ अंक बटुलेका थिए । उनीबाहेक अन्य सात खेलाडीले विपक्षीविरुद्ध अंक नै बटुल्न सकेनन् ।

एसियाडमा कस्ले को लग्यो ?
ओलम्पिक नियमअनुसार सदस्य–सचिव, खेलकुदमन्त्री, ओलम्पिक अध्यक्षहरूका श्रीमती लाने नियम छ । यसपटक खेलकुदमन्त्रीले राज्यको रकम खर्च हुन्छ भनी श्रीमती लगेनन् । मन्त्री एक हप्ता पनि नबसी नेपाल फर्किए । सदस्य–सचिवले भने श्रीमती ल्याए । उनी ११औँ दिनमा काठमाडौं फर्के । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ पनि दुई दिनअघि फर्के । एनओसीका कोषाध्यक्ष रतन टन्डनले कान्छा छोरालाई ल्याए । आफ्नै खर्चमा भन्दै जकार्ता पुग्नेको संख्या ठूलो थियो । राखेपले आधिकारिक रूपमा सार्वजनिक गरेको सूचीमा १८५ खेलाडी, ६९ प्रशिक्षक र व्यवस्थापक गरी २५० जना थिए । पछि तीन प्रशिक्षक र दुई खेलाडी थप भएका थिए ।

घाइते खेलाडी जकार्तामा
उसुका वीरमान लामा नेपालमै घाइते थिए । उसु टोली चीनमा प्रशिक्षण गर्न जाँदा उनी इन्जुरीका कारण जान पाएनन् । तर, नेपाली उसु टोलीको बिदाइ गर्दा उनी टोलीमा देखिए । त्रिभुवन आर्मीका खेलाडी वीरमान सीधै जकार्ता आए । आफ्नो इभेन्टमा उनले प्रतिस्पर्धा गरेनन् ।

टेनिसको सूचीमा नभएका दुई खेलाडी

परिषद्को सूचीमा टेनिसमा चार खेलाडी मात्र थिए । तर, एसियाडको अफिसियल वेभसाइटमा नेपालबाट टेनिसका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने उल्लेख छ । एसियाडमा आएका प्रणव खनाल र एनी माथेमा परिषद्को सूचीमा थिएनन् ।

फुपु खेल अगाडि घाइते
जुडोले फुपुबाट पदकको अपेक्षा गरे पनि उनी अभ्यासका क्रममा कुइनोमा चोट बोक्न पुगेकी थिइन् । घाइते अवस्थामै प्रतिस्पर्धा गरेकी फुपु पहिलो चरणभन्दा अघि बढ्न सकिनन् । अर्की खेलाडी मनीता पनि इन्जुरी अवस्थामा नै खेलेकी थिइन् ।

प्रतिस्पर्धा हुनु ३० मिनेटअघिको वार्मअपका क्रममा विपक्षी खेलाडी फुपुमाथि बजारिएकी थिइन् । फुपु अनियन्त्रित हुँदै भुर्इंमा लड्दा दायाँ हातको कुहिना म्याटमा बजारिएको थियो । टोलीका डाक्टर सरोज श्रेष्ठले ब्यान्डेज लगाएर फुपुलाई प्रतिस्पर्धा गर्न पठाए ।

प्रतिखेलाडी ३ लाख ३९ हजार खर्च

एसियाडमा राम्रो नतिजा निकाल्न राज्यले दैनिक भत्ता व्यवस्था गरेको छ । नयाँ पत्रिकालाई उपलब्ध भएको डाटाअनुसार एसियाडका लागि समग्रमा राज्यले एक खेलाडीबराबर ३ लाख ३९ हजार रुपैयाँ लगानी गरेको छ । बढी खेल र खेलाडी सहभागी गराएका कारण कुनै खेललाई विशेष महत्व नदिँदा औसत खेलाडीमा गरिएको लगानी खेर गएको छ ।

सहभागिता अघि नै निराश
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउँदा खेलाडीका लागि दैनिक भत्ता तोकिएको हुन्छ । एसियाड वा अन्य प्रतियोगितामा सहभागिता जनाउँदा खेलाडीले निश्चित दैनिक भत्ता पाउँछन् । तर, यसपटक परिषद्ले खेलाडीले पाउनुपर्ने निश्चित भत्तामा समेत कटौती गरेको कराते खेलाडी पर्शुराम बास्तोलाले गुनासो गरेका थिए । उनले प्रतियोगिताअघि नयाँ पत्रिकासँग भत्ता कटौती भएको गुनासो गरेका थिए । ‘इन्चोन एसियाडमा दुई सय डलर थियो, तर अहिले सय डलर पनि छैन,’ उनले भने, ‘सबैतिरबाट खेलाडीलाई मारमा पार्ने काम भइरहेको छ ।’

एसियाडका एक खेलाडीको औसत खर्च
दैनिक अभ्यास खर्च १४ सय
(वैशाख–साउन)– १ लाख ६८ हजार
सहभागिताका लागि दुईतर्फी टिकट ७५ हजार
इन्डोनेसियामा रहँदा
दैनिक ७५ डलर (८ दिन)– ६५ हजार
खेलाडीको ड्रेस– १० हजार
ट्र्याकसुट, ब्यागलगायत– १२ हजार ५ सय
दौरा–सुरुवाल– ८५ सय
कुल ३ लाख ३९ हजार
१ सय ८५ खेलाडीको खर्च ६ करोड ३३ लाख १५ हजार (पछि थप दुई खेलाडी जकार्ता पुगेको )

५ करोड बजेट
एसियाड तयारीका लागि सरकारले पाँच करोड बजेट विनियोजन गरेको थियो । गत वर्षको बजेटबाट खेलाडीले असारसम्मको तयारी गरेका थिए । यद्यपि, राखेपले सरकारसँग ८ करोडबराबरको बजेट माग गरेको छ । सोहीअनुसारको निकासाको प्रयास पनि गरिएको छ ।

हारको जिम्मेवारी लिन्छु : सदस्य–सचिव
सदस्य–सचिव केशवकुमार विष्टले नेपाली खेलाडीको प्रदर्शनको जिम्मेवारी आफूले लिने बताएका छन् । ८ भदौमा जकार्तामै पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘अहिलेसम्म जकार्तामा जे–जस्तो प्रदर्शन भइरहेको छ, त्यसको जिम्मेवारी एक सदस्य–सचिव र टोली नेताका रूपमा म लिन्छु ।’

साग आयोजना पनि अन्योलमा
ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आयोजनाको प्रगति विवरण पठाउन निर्देशन दिएको छ । ओसिएले नेपालमा आयोजना गर्ने तय भएको सागको तयारीका विषयमा पत्र पठाउन निर्देशन दिएको हो । जकार्तामा सम्पन्न ओसिएको बैठकले साग सम्बन्धमा छलफल गर्दै तयारीको अवस्था र अन्य गतिविधि सम्बन्धमा विवरणसहित पत्र पठाउन भनेको छ ।

गर्न सक्ने कि नसक्ने ?
नेपालले १३औँ साग सन् २०१९ को मार्चमा गर्ने तय भएको छ । राष्ट्रिय खेलकुद परिषद्, खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीले त्यहीअनुरूप तयारी गरेको जनाए पनि तयारी प्रभावकारी नहुँदा साग नेपालमा हुने या नहुने अन्योल छ । कछुवाको गतिमा तयारी भइरहँदा नेपालले निर्धारित समयमा साग गर्न सक्छ वा सक्दैन भन्ने प्रश्न बैठकमा उठेको छ । धेरैले नेपालबाट अब साग हुन नसक्ने रिपोर्टिङ गरेका कारण ओसिएले नेपालसँग जवाफ माग गरेको हो ।

आजको नयाँ पत्रिकामा खबर छ ।

एशियाली खेलकूदको महाकुम्भ सम्पन्न : नेपाल एक रजत पदकमा सिमित,पदक तालिकामा चीन अग्रस्थानमा