एसियाड भलिबलमा नेपालको ऐतिहासिक जीत, मङ्गोलिया ३-१ ले पराजित

नेपालको एशियाली खेलकूद अन्तर्गत भलिबलमा पहिलो जित हाँसिल गरेको छ । इण्डोनेशियामा जारी १८ औं एशियाली खेलकूद अन्तर्गत मंगलबार भएको पुरुष भलिबल खेलमा नेपाल विजयी भएको हो ।

इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो ।

यसअघिको समूह चरणको खेलमा नेपाल चाइनिज ताइपेई र दक्षिण कोरियासँग पराजित भएको थियो । नेपालले खेलको पहिलो सेट २८–२६ ले गुमायो । त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले लगातार तीन सेट आफ्नो पक्षमा पार्यो ।

नेपालले दोस्रो सेट २५–१६ ले जित्यो भने तेस्रो सेट ३०–२८ तथा चौथो सेटमा २५–१९ ले आफनो पक्षमा पार्दै प्रतियोगितामा सहज जित हात पार्यो ।

नेपालले १३ औँ देखि १८औँ वरियताको लागि खेलेको हो । यो वरियताका लागि नेपालसँगै मङ्गोलिया, काजकस्तान र किर्गिस्तान रहेका छन् । नेपालले अब श्रीलङ्का र भियतनाममध्ये एक टोलीसँग खेल्नेछ ।

चुक्यो नेपाली खेल- विगतमा पदक जितेका खेल अहिले पदकविहीन