एसिया कपको उपाधि भारतलाई : बंगलादेश तीन विकेटले पराजित

भारत

एसिया कपको उपाधि भारतले जितेको छ । शुक्रबार भएको निकै रोमान्चक खेलमा बंगलादेशलाई तीन विकेटले पराजित गर्दै भारतले उपाधि चुमेको हो ।

भारतको यो सातौं एसिया कप उपाधि हो । युएईको दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४८.३ ओभरमा सबै विकेट गुमाउदै २२२ रन बनायो । राम्रो सुरुवात गरेपनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा बंगलादेश मध्यम स्कोरमा समेटियो । बंगलादेशका लागि ओपनर लिटन दास र मेहन्दी हसन मिराजले २१ ओभरमा १ सय २० रनको शतकीय साझेदारी गरेका थिए । दासले १ सय १७ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १ सय २१ रनमा आउट भए भने मेहेदी हसन मिराजले ३२ रन बनाए ।

त्यस्तै सौम्य सरकारले ३३ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । भारतको लागि कुलदीप यादवले ३ विकेट लिए भने केधार जाधव २ तथा युजवेन्द्र चाहल र जसप्रित बुमराहले समान १-१ विकेट लिए ।

२२३ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले अन्तिम बलमा जित हात पार्यो । उसका लागि रोहित शर्माले सर्वाधिक ४८ रन बनाए भने दिनेश कार्तिकले ३७ रन जोडे । त्यस्तै महेन्द्र सिंह धोनी ३६ रन बनाई आउट भए भने केदार जाधव २३ रनमा अविजित रहे । यसैगरी रविन्द्र जडेजाले २३ र भुवनेश्वर कुमारले २१ रन योगदान गरे ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमान, रुवेल हसनले समान २ विकेट लिए भने नाजमुल इस्लाम, मासराफे मुर्तजा र महमुदुल्लाको भागमा समान १-१ विकेट रह्यो । खेलको म्यान अफ दी म्याच लिटन दास भए भने म्यान अफ दी टुर्नामेन्ट भारतका शिखर धवनले हात पारे ।

पाकिस्तानलाई पराजित गर्दै बंगलादेश एसिया कपको फाइनलमा