एसिया प्यासिफिक समिट- नेकपाका जनप्रतिनिधिलाई इसाई बनाउने ग्राण्ड डिजाइन थियो

गत साता काठमाडौंमा भव्य रुपमा सम्पन्न भनिएको एसिया प्यासिफिक समिट २०१८ पछि देशको मर्यादा र राष्ट्रको प्राथमिकताका विषयमा सरकारको चासो के हो भन्ने प्रश्न जवर्जस्त रुपमा उठेको छ ।

इसाई धर्मप्रचार र धर्म परिवर्तनका लागि बदनाम भएको र विश्वका धेरै मुलुकमा प्रतिबन्ध लागेको युनिभर्सल पिस फेडरेशनले आयोजना गरेको सो सम्मेलनमा नेपाल सरकार आयोजक बनेको अनि सरकारकै नाममा निमन्त्रणा बाँडिएपछि सरकारको चर्को आलोचना भएको छ र अहिले पनि भैरहेको छ ।

यति मात्र हैन यो संस्था र कार्यक्रमबाट सत्तारुढ नेकपा कति प्रभावित रहेछ र उसको प्रभाव कहाँसम्म रहेछ भन्ने पनि देखिएको छ । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमको सभापतित्व नै गर्नुभयो । प्रधानमन्त्री केपी ओलीले कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।

यति मात्र हैन नेकपाबाट निर्वाचित स्थानीय निकायका जनप्रतिनिधिलाई पति पत्नीसहित कार्यक्रममा उपस्थित भएर कथित जीससकी एकमात्र छोरीको हातबाट होली वाइनसहित आशीर्वाद लिन पत्राचार समेत भएको थियो । नेकपाका नेता भीम रावलका अनुसार आफ्ना पार्टीका जनप्रतिनिधिलाई हवाई जहाजको टिक, होटलको बास अनि एकएकवटा ज्याकेट उपहार दिने भन्दै बोलाउने तयारी भएको थियो ।

यो कुरालाई लिएर नेता रावलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अधयक्ष प्रचण्डलाई जानकारी गराएको र रोकेको खुलासा गर्नुभएको छ । सरकार त्यो कार्यक्रमको सहआयोजक बनेकोमा निकै आक्रोशित हुनुभएका नेता रावलले यो सम्मेलनबाट नेपालको कूटनीतिक छविप खलबलिएको दावी गर्नुहुन्छ ।

यति मात्र हैन यो कार्यक्रमको समापनपछि नेपाल सरकार एनजीओ आएनजीओको इशारामा चल्ने गरेको प्रष्ट भएको राजनीतिक विश्लेषक केबी रोकायाले बताउनुभएको छ । इसाई धर्मावलम्बी मात्र नभएर एउटा चर्चको प्रमुख समेत रहनुभएका रोकाया पछिल्ला केही वर्षयता नेपाल हिन्दु राष्ट्र नै हुनुपर्छ भन्ने पक्षमा वकालत गराइरहनुभएको छ ।

रोकायाले एउटा टेलिभिजन अन्तरवार्तामा नेपालमा सेना बाहेक कुनै पनि निकाय एनजीओ आएनजीओको प्रभावबाट मुक्त नरहेको दावी गर्दै नेपालमा भएको सम्मेलनपछि विश्वका धेरै मुलुकहरु यस्तै संस्थाको प्रभावमा रहेको देखिएको समेत बताउनुभएको छ ।

विश्वमा शान्ति, वातावरण अनि ईश्वरप्रतिको आस्था बढाउन भन्दै आयोजना गरिएको यो कार्यक्रमको मूल उद्देश्य इसाई धर्मको प्रचार नै हो । सम्मेलनमा भाग लिन हिन्दू, मुस्लिम ईशाई र बौद्ध धर्मका धर्मगुरु, विभिन्न मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुख लगायतका विश्वका चर्चित व्यक्तित्व काठमाडौंमा आएका थिए । सम्मेलनमा ७ देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुख सहभागी थिए ।

त्यस्तै सम्मेलनमा ४५ देशका ५ सय उच्च सरकारी अधिकारीसहित १ हजार ५ सय सहभागी भएको आयोजकले जनाएको छ । यसैबाट देखिन्छ यो संस्थाको प्रभाव । यो सम्मेलनमा सरकारको कति खर्च भयो कुल खर्च कति भयो भन्ने उत्सुकताको विषय छ ।

धार्मिक सहिष्णुता र सांस्कृतिक साझेदारिताको मौलिक नेपालीपना विरूद्ध लक्षित अभियानका दुष्परिणामहरू नेपाली समाजमा अहिले नै देखापरिरहेका छन् । आश्चर्यको कुरा त के छ भने कम्युनिष्टलाई शैतानको संज्ञा दिँदैआएको प्यासिफिक चर्चले नेपालको कम्युनिष्ट सरकार र सम्बद्ध पार्टीकै नेताहरूलाई उपयोग गर्नु र धर्मलाई ’अफिम ’मानेर बाबुआमाको काजक्रियासमेत नगर्ने कमरेडहरू लामबद्ध भएर कथित इशाइमाताको आशीर्वचन लिन लालायित हुनु रहस्यमय तथा बिडम्बनापूर्ण परिघटना बनेको छ ।

यो विवादास्पद सम्मेलनको आयोजना ठूलो धनराशी खर्च गरी धर्मान्तरणमा सक्रिय रहेको दक्षिण कोरियाली संस्था युनिफिकेशन चर्चकी प्रमुख हक जा हान मुनको सक्रियता र लगानीमा भएको जगजाहेर नै छ । ‘धर्ममात’ र ‘क्राईष्टको नयाँ अवतार’को रूपमा आफूलाई चिनाउने धृष्टता गर्दैआएकी यी महिला र उनको चर्चसितको सम्पर्क र प्रभावमा नेपालका कतिपय नेताहरू, प्रशासकहरू र जनप्रतिनिधिहरू लामो समयदेखि रहँदैआएको तथ्य यो प्रकरणले उजागर गरेको छ ।

संविधान निर्माणको कसरत भैरहेको बेला संविधानसभाका सयौं सदस्यलाई पटक पटक दक्षिण कोरिया भ्रमण गराइएको र यसको संयोजन तत्कालिन परिवार दल र हालका नेकपाका नेता एकनाथ ढकालले गर्ने गरेको पनि खुलाशा भैरहेको छ । नेपाल धर्मनिरपेक्ष घोषित भएपछि सुनियोजित रूपमा देशभर इसाई धर्मको प्रचार भैरहेको हजारौं चर्चहरू स्थापित भएको वास्तविकताले मुलुक निकट भविष्यमै धार्मिक सांस्कृतिक द्वन्द्वको चपेटामा पर्ने आशङ्का खडा भएको छ ।