एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता नेपाल श्रीलंकासंग पराजित

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक राष्ट्र श्रीलंकासँग ५ विकेटले पराजित भएको छ । शुक्रबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरको खेलमा ९ विकेटको क्षतिमा १५९ रन मात्र बनाउन सकेको थियो ।

१ सय ६० रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ३३.४ ओभरमा चार ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । श्रीलंकाको जितमा कामिल मिशराले ५५, अहान विक्रमासिंहले ३० रन र अविस्का थरिन्दुले अविजित २५ रन बनाए ।

२२ रन जोड्दा पहिलो विकेट गुमाएको श्रीलंकाले ५३ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो । तर लक्ष्य सामान्य भएका कारण उसले सहज जीत निकाल्यो । नेपालका लागि राशिद खानले दुई विकेट लिए । त्यस्तै, कमल सिंह ऐरी, पवन सर्राफ र सागर ढकालले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ९ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । खेल रोकिनुअघि नेपालका दुई ब्याट्सम्यान सस्तैमा समेटिएका थिए । आशिफ शेख ७ रनमा आउट हुँदा पवन सर्राफ चार रनमा आउट भएका थिए । वर्षाको कारण खेल ४२ ओभरमा छोट्याएपछि खेल पुनः सुरु भएको थियो ।

नेपालका लागि रित गौतमले ५४ रन बनाएर आउट भए । त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए । रोहित र रितले नेपाली पारी उकास्ने कोशिस गरेका थिए । यी दुई खेलाडीले ९१ रनको साझेदारी गरे । तर रोहित आउट भएसँगै नेपाली पारी धरापमा पर्‍यो ।

रोहितपछि हरिबहादुर चौहान १२ रनमा रनआउट भए भने भीम सार्की पनि एक रनमा एल्बीडब्लु आउट भए । तर रासिद खान भने १५ रनमा अविजित रहे । श्रीलंकाका लागि दिलसान मदुसनका र नभोद दिनुश्रीले समान ३–३ विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेलमा आइतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

तस्वीरहरु रमन सिवाकोटीबाट