ऐतिहासिक गढी र किल्लालाई पर्यटकीय गन्तव्य बनाइने

सरकारले नेपाल एकीकरणको क्रममा प्रयोग भएका ऐतिहासिक गढी तथा किल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य राखेको छ ।

सङ्घीय संसद्को बुधबारको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले ऐतिहासिक गढी तथा किल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीति लिइएको जानकारी दिनुभयो ।

उहाँले त्यस्ता गढी र किल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दा त्यसले दिगो पर्यटन विकास हुने उल्लेख गर्नुभयो । यस्तै ‘माइस’ पर्यटनलाई विस्तार गर्न प्रमुख पर्यटकीय गन्तव्यमा सभाहल तथा अन्य भौतिक पूर्वाधारको विकासलाई जोड दिने सरकारको लक्ष्य रहेको छ ।

यस्तै हिमालयन हरित पदमार्गलाई अगाडि बढाउने लक्ष्य राखिएको छ भने रारा क्षेत्रलाई विशेष पर्यटन क्षेत्रको रुपमा विकास गर्ने राखिएको छ ।

यसै गरी सरकारले ग्रामीण स्वास्थ्य स्वयम्सेविकाको सुविधामा वृद्धि गरेको छ । ५२ हजार महिला स्वयं सेविकालाई यातायात खर्चवापत वाषिर्क यातायात खर्च ३ हजार दिइने घोषणा अर्थमन्त्रीले बताउनुभएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटमार्फत सरकारले उनीहरुको सुविधा थपेको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि बजेटले सामाजिक सुरक्षाको विस्तार, उत्पादन शक्तिको विकासमा प्राथमिकता दिएको छ । सामाजिक न्यायसहित आर्थिक भौतिक विकास गरी सन् २०२२ सम्म मुलुकलाई मध्यमस्तरको मुलुक बनाउने आधारशिला खडा गर्ने बजेटको प्राथमिकता रहेको जानकारी अर्थमन्त्री डा. युवराज खतिवडाले दिनुभएको छ ।

बजेटमा नागरिकका मौलिक हक र अधिकारका रुपमा रहेका आवश्यकता पूर्तिका लागि शीघ्र सेवा उपलब्ध गराउने प्रतिबद्धता बजेटका उद्देश्य र प्राथमिकता रहेको उल्लेख छ ।

सार्वजनिक, निजी र सहकारीको सहकार्यका माध्यमबाट गुणस्तरीय शिक्षा, स्वास्थ्य, जनताका आधारभूत क्षेत्रमा महत्व दिई अधुरा आयोजनाको कार्यान्वन, विधिको शासन कायम, स्रोत, साधन र अवसरको उच्चतम् प्रयोग गरी तिनै तहका सरकारबीचको सहकार्य गरिने बजेटमा उल्लेख छ ।

विकासमा पछि परेका वर्ग र पक्षको उत्थान गरी राष्ट्रिय पूँजी निर्माणको गर्ने बजेटको प्राथमिकता छ ।