ऐतिहासिक जीतसंगै विश्व कीर्तिमान बनेको नेपालको यो क्षण, बधाईको ओइरो

अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो अलग पहिचान बनाउँदै ऐतिहासिक सफलता हातपारेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई र शुभकामनाको ओइरो लागेको छ । युएईमा सम्पन्न नेपाल र युएईबीचको तीन एकदिवसीय शृंखला जितेको नेपालका रोहित कुमार पौडेलको नाममा विश्व कीर्तिमान समेत बन्यो ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो एक दिवसीय क्रिकेटमा युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीलाई बधाई दिनुभएको छ ।

एक वक्तव्य जारी गर्दै उहाँले नेपाली टोलीले ऐतिहासिक जीत हासिल गरेकामा खुसी व्यक्त गर्नुभएको छ । वक्तव्यमा अध्यक्ष दाहालले भन्नुभएको छ, “नेपाललाई पहिलो अन्तर्राष्ट्रिय सिरिजमा सफलता दिलाउने नेपाली क्रिकेट टोलीलाई हार्दिक धन्यवाद एवं बधाई ज्ञापन गर्दछु ।”

अध्यक्ष दाहालले एकदिवसीय क्रिकेटका कप्तान पारस खड्काले उत्कृष्ट प्रर्दशन गर्दै शतक बनाउने पहिलो खेलाडी हुन सफल भएकामा बधाई दिनुभएको छ ।

त्यस्तै उहाँले शनिबारको खेलमा रोहित पौडेलले सबैभन्दा कलिलो उमेरमा अर्धशतक बनाउने खेलाडीको विश्व रेकर्ड तोड्न सफल भएकामा बधाई दिँदै आगामी दिन अझै राम्रो प्रदर्शनका लागि प्रगतिको कामना गर्नुभएको छ ।खेलाडी राष्ट्रका गहना मात्र नभएर अमूल्य निधि भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले खेलाडीको उचित सम्मान र प्रोत्साहनमा सिङ्गो राज्य समर्पित हुने विश्वाससमेत दिलाउनुभएको छ ।

उता नागरिक गुनासा सुन्न बनाइएको हेलो सरकाले पनि ट्वीटरमा आईसीसीको ट्वीट रिट्वीट गर्दै ‘नेपालले युएईसँग एकदिवसीय सिरिज जितेको छ । नेपाली क्रिकेटका लागि यो अर्को मिलको पत्थर र ऐतिहासिक क्षण हो । अब नेपाली टिम विस्तारै विश्व क्रिकेटमा परिचित देखिन थालेको छ । अभियान जारी रहोस्’ लेख्दै बधाई दिएको छ ।

ट्वीटरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘नेपाली क्रिकेट टिमलाई धेरै धेरै बधाई भन्दै पारस खड्कालाई मेन्सन गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि ‘बधाई नेपाली टिमका खेलाडी साथीहरु’ भनेका छन् ।

नेपालभित्रबाट मात्र हैन विदेशबाट पनि बधाई आएको छ । अफगानिस्तानका क्रिकेटर रसिद खानले ट्वीट गर्दै लेखे, एकदिवसीय क्रिकेटमा नेपालको पहिलो शतक, हेर्दा पनि असाध्यै अदभूत, पारस तिम्रो पहिलो शतकका लागि खुशी छु ।

आईसीसीले पनि कप्तान पारस खड्कासहित नेपाली क्रिकेटलाई पहिलो एकदिवसीय सिरिजका लागि बधाई दिएको छ ।

युएईसँगको तीन खेलको एकदिवसीय सिरिजमा पहिलो खेल ३ विकेटले हारेको नेपालले दोस्रो खेल १ सय ४५ रनले र तेस्रो खेल चार विकेटले जितेको हो ।

तेस्रो एकदिवसीयमा २ सय ५५ रनको लक्ष्य पछ्याउँदा कप्तान खड्काले नेपालका लागि पहिलो शतक बनाएका थिए । उनले १ सय ९ बलमा १ सय १५ रन बनाएका थिए । नेपालले अब युएईसँग तीन खेलकै टी ट्वान्टी सिरिज खेल्ने छ ।