ऐतिहासिक शिखर वार्ताका लागि किम दक्षिण कोरियामा

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धपछि दक्षिण कोरियामा पाइला टेक्ने किम जोङ उन उत्तर कोरियाका पहिलो शाषक बनेका छन्। विश्वले चासोका साथ हेरिरहेको उतर दक्षिण कोरियाको शिखर बैठकका लागि उन दक्षिण् कोरिया पुगेका हुन्।

उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच शिखर बैठक सुरु भएको छ। वार्ताका लागि दुई देशको सिमा क्षेत्र पानमुनजोममा दुबै देशका प्रमुखहरु उपस्थित भइसकेका छन्। दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका अनुसार स्थानीय समयअनुसार बिहान ठिक साढे ९ बजे उत्तर नेता किम पैदल नै सीमा पार गर्दै बैठक स्थल पुगेका छन्। उत्तरका नेता किमलाई स्वागत गर्न दक्षिण राष्ट्रपति मुन सीमाक्षेत्रमा नै पुगेका थिए।

पानमुनजोमको पिस हाउसमा स्थानीय समयअनुसार साढे १० बजे वार्ता सुरु हुनुअघि दुवै राष्ट्रप्रमुखलाई ‘गार्ड अफ अनर’ दिइएको थियो।  भ्रमणमा संलग्न ९ सदस्यीय उत्तर कोरियाको प्रतिनिधिमण्डलमा उत्तर कोरियाका संवैधानिक राष्ट्रप्रमुख किम योङ नाम, नेता किमकी बहिनी तथा उत्तर कोरियाको सत्ताधारी वर्कर्स पार्टीकी नेता किम यो जोङ, विदेश मन्त्री री योङलगायत छन्। नाम र जोङ गत फेब्रुअरीमा दक्षिण कोरियामा सम्पन्न शीतकालीन ओलम्पिकको उद्घाटनमा उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधिमण्डलको प्रमुख सदस्यका रुपमा दक्षिण पुगेका थिए।

शिखर वार्ताको पहिलो सत्रको छलफलपछि दुवै नेताले संयुक्त रुपमा वृक्षारोपण गर्ने कार्यक्रम छ। त्यसपश्चात् दुवै नेताले छुट्टाछट्टै बिहानी खाना खाने बताइएको छ। ब्लु हाउसका अनुसार दुवै नेताबीच यसबीचमा संक्षीप्त तथा अनौपचारीक वार्ता पनि हुनेछ। सिओलका एक सरकारी अधिकारीका अनुसार दुवै नेताले बैठकको अन्त्यमा एक सम्झौतामा हस्ताक्षर गर्ने र आफ्नो भनाइसमेत राख्नेछन्।

ब्लु हाउसले दिएको जानकारी अनुसार साँझ साढे ६ बजे समुहिक भोजनको कार्यक्रम तय भएको छ। जसमा उत्तर कोरियाली नेता किमकी धर्मपत्नी सोल जूसमेत सामेल हुने बताइएको छ। यसपश्चात् आजको शिखर वार्ता सकिनेछ। सम्मेलनलाई लिएर दुवै कोरियाले सिमाक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ। ऐतिहासिक मानिएको यस शिखर वार्तालाई सोहार्द र भव्य बनाउन दक्षिण कोरियाले सिमा क्षेत्रदेखि सम्मेलन स्थललाई झकिझकाउ बनाएको छ।

बैठकमा दुई कोरियाबीच रहँदै आएको तनाव, उत्तर कोरियाली आणविक कार्यक्रम तथा उत्तरमाथि लाग्दै आएको अन्तर्राष्ट्रिय नाकाबन्दी लगायतका विषयमा छलफल हुने बताइएको छ। वार्तालाई लिएर विश्वको ध्यान आज पानमुनजोममा अडिएको छ। दुवै राष्ट्रप्रमुखबीचको वार्ताले कोरियाली प्रायद्धिपमा लामो समयदेखि रहँदै आएको तनाव मत्थर हुने आशा गरिएको छ।