ऐश्वर्याप्रति गर्व छ अभिषेकलाई

पछिल्ला वर्ष बुहारी ऐश्वर्या रायका कारण बलिउडको प्रतिष्ठित बच्चन परिवारले सहज अनुभव गरिरहेको छैन । खासगरी जया बच्चन ऐश्वर्याको विवाहपछिको फिल्मी करिअरलाई लिएर बढी नै सचेत देखिन थालेपछि परिस्थिति प्रतिकूल बनेको मानिन्छ ।

ais

ऐश छोरी हुर्काइसकेपछि पुन: फिल्ममा आएकी छन् भने बच्चन परिवार उनले निर्वाह गर्ने भूमिका र दिने दृश्यका कारण तनाव झेल्दै आएको छ । ऐशको पछिल्लो फिल्म ‘ए दिल है मुश्किल’ मा ऐश रणवीर कपुरको अपोजिटमा ग्ल्यामर छविमा प्रस्तुत भएपछि फ्यानले जति इन्जोय गरे, परिवारले गर्न सकेन । बच्चन परिवार त ऐशले दिएका चुम्बन दृश्यलाई नै हटाउनका लागि निर्देशक करण जोहरलाई निरन्तर दबाब दिइरह्यो ।

तर आफ्नो कदममा न त ऐश डगमगाइन्, न निर्देशक नै । फिल्म रिलिजपछि स्पेसल अपिअरेन्समा रहेकी ऐशले ठूलो कभरेज बटुलिन् । फिल्म क्रिटिक्सदेखि दर्शकसम्मले उनको भूमिका, चरित्र र अभिनयलाई रुचाइदिएपछि सासू/ससुरा र बुहारीबीचको असमझदारीमा मौनता साधेका पति अभिषेकले यति बेला आएर बल्ल मुख खोलेका छन् । त्यो पनि आफूलाई ऐशप्रति गर्व छ भन्ने आशयसहित ।

‘दुर्भाग्य, मैले अहिलेसम्म फिल्म त हेर्न पाएको छैन । तर पनि पोस्ट प्रोडक्सनमा केही फुटेज हेरेको आधारमा ऐश फिल्ममा स्टनिंग देखिएकी छन् । मलाई मेरी पत्नीप्रति गर्व छ,’ अभिषेकले ऐश्वर्याको ‘ए दिल है मुश्किल’ मा गरेको कामलाई लिएर यसो भनेका छन् । आफ्नो फुटबल टिमसँगको लगातार भ्रमणले गर्दा फिल्म हेर्ने फुर्सद नमिलेको पनि अभिषेकले खुलाएका छन् । ऐशकै कारण जया–अमिताभसँग निर्देशक करणको सम्बन्ध सुमधुर नभइरहेका बेला अभिषेकले भने पूरा फिल्म टिम र खासगरी करण जोहरप्रति आफू खुसी रहेको पनि प्रतिक्रिया दिएका छन् ।

एक फेसन शोमा आमाबाबुसँगै उपस्थित भएका अभिषेकले पत्निका बारेमा यसरी खुलेर कुरा गरेका हुन् । जबकि यसअघि नै जयाले ऐशको नाम नलिइकनै अहिलेका फिल्म ग्ल्यामरका नाममा बढी छाडा र कलाभन्दा बढी पैसामुखी बनिरहेको भन्दै चर्को टिप्पणी गरेकी थिइन् । जुन भनाइलाई मिडियाले सिधै ऐशको भूमिकाप्रतिको रोष भन्दै अथ्र्याएका थिए ।
-कान्तिपुर बाट