फुकुओका, ओइता जलमग्न, कैयौं वेपत्ता, चार लाखभन्दा बढीलाई बस्ती खाली गर्ने आदेश

बुधबार दक्षिण जापानको क्युशु क्षेत्रमा भएको लगातारको भीषण वर्षापछि आएको बाढी तथा पहिरोले कम्तिमा दशजनाको ज्यान गएको आशंका गरिएको छ । अहिले सो क्षेत्रका चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ ।

जापान टुडेका अनुसार बाढी तथा पहिरोका कारण दर्जनौ फसिरहेका चार लाख तीन हजारभन्दा बढी जनतालाई आआफ्नो घर खाली गरेर सुरक्षित स्थान वा शिविरमा गएर बस्न आदेश दिइएको ओइता प्रशासनले जनाएको छ । यसरी आदेश दिइएकामध्ये तीन लाखभन्दा बढी फुकुओकाका रहेका छन् ।

बुधबार बाढीबाट सबभन्दा बढी प्रभावित आसाकुरा क्षेत्र रहेको छ । त्यहाँ २४ घण्टाको अवधिमा ५१५ मिलिलिटर पानी परेको थियो । सो शहरबाट ५४ हजार मानिसलाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार फुकुओका र छिमेकी ओटाको धेरै क्षेत्रमा शतर्कताको आगूह गरिएको छ । अहिले जुन मात्रामा पानी परिरहेको छ, यसले दशक अघिको आपतकालीन स्थिति निम्त्याउनसक्ने आशंका गर्न थालिएको छ ।

वर्षाका कारण यातायात प्रभावित भएको छ । आसाकुरामा नगर सरकारले सहयोगका लागि सुरक्षा बलसंग परामर्श गरिरहेको छ । बाढीले घेरिएको क्षेत्रमा एक प्राथमिक विद्यालय रहेको र त्यहाँ लगभग ५० जना फसेका छन् ।

प्रधानमन्त्री शिन्जा आबेले बाढीबाट पुगेको क्षति र उद्धार तथा सहायताका लागि चाहिने आवश्यक सबै व्यवथा गर्न निर्देशन दिनुभएको छ । सरकारले अग्नि नियन्त्रक, प्रहरी अधिकारी र अन्य निकायका अधिकारीहरु सम्मिलित करीब छ हजार जनालाई बिहिबार बिहानै खोज, उद्धार र सहायतामा जुट्ने आशा राखेको छ ।