ओखलढुंगामा प्रभावकारी बनाइँदै मतदाता शिक्षा

पहिलो चरणको चुनावमा अत्याधिक मात्रामा मत बदर भएको आलोचना विच निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि मतदाता शिक्षालाई प्रभावकारी बनाउने बताएको छ। जस अन्तर्गत पुर्वका पहाडि जिल्लाहारुमा मतदाता शिक्षा गाँउ- गाँउमा पुग्न थालेको छ ।

जेठ ३१ गते हुने  दोस्रो चरणको  निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले तयारी थालेको छ। अघिल्लो महिना मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै मतदाता शिक्षा पनि सुरु गरिएको थियो।

प्रत्येक मतदातालाई मत हाल्ने तरिका सिकाउन कार्यकर्ताहरु प्रत्येक मतदान केन्द्रमा खटिएको जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका प्रमुख अर्जुन राईले जानकारी दिए। राईका अनुसार ओखलढुंगामा १ सय २७ मतदान केन्द्रमा सोही १ सय ३३ संख्यामा मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवकहरु खटिइसकेका छन्।

प्रत्येक मतदान केन्द्रका लागि एकजना मतदाता शिक्षा दिने व्यक्ति खटाइएको छ। नमुना मतपत्रका साथ कार्यकर्ताहरु खटिएर शिक्षा दिन थालेको निर्वाचन कार्यालय प्रमुख राईले जानकारी दिए। जिल्लामा ७८ मतदानस्थल र १ सय र २७ मतदान केन्द्र रहेका छन्। मतदान केन्द्रको प्रभाव क्षेत्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ताले दैनिक हरेक वडामा गएर मतदान गर्ने तरिका सिकाउने प्रमुख राईले जानकारी दिएका छन्।

मतदाता शिक्षाका लागि कार्यकर्ता नआएको भए उजुरी दिनसमेत उनले आग्रह गरेका छन्। ‘हरेक मतदाताको घर, टोलमा मतदाता शिक्षा कार्यकर्ता नआएमा वडा सचिव वा निर्वाचन कार्यालयमा उजुरी गर्न मतदातालाई आग्रह पनि गरेका छन्। ओखलढुंगाका सबै ८ वटा तहमा मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवक मतदाता शिक्षा प्रदानका लागि खटिएको उनले बताए।

उनले पहिलो चरणको निर्वाचनमा मतपत्र बदर धेरै संख्यामा भएको भन्दै जिल्लामा त्यसको संख्या घटाउन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। एक नगरपालिकासहित ७ गाँउपालिका रहेको ओखलढुंगामा  ९१ हजार ५ सय ८ जना मतदाताले मतदान गर्नेछन् । तीमध्ये महिलाको संख्या ४६ हजार ६ सय ९५ र पुरुषको संख्या ४४ हजार ८ सय १३ रहेको निवाचन कार्यलय ओखलढुंगाले जनाएको छ।