ओढारमा भेटिएको १६ किलो सुनका मालिक बिरुद्ध ३५ करोड जरिवानासहितको मुद्दा

गत साउन ९ गते गोरखाको एक गुफामा लुकाइराखेको अवस्थामा १६ किलो सुनसहित पक्राउ परेका गोरखा केरौंजाका धनकमल गुरुङविरुद्ध ३५ करोड रुपैयाँ जरिवाना माग दावी गर्दै जिल्ला अदालत गोरखामा मुद्दा दर्ता भएको छ ।

राजस्व अनुसन्धान विभागले सो मुद्दा दायर गरेको हो । विभागले अनुसन्धान सकेर मंगलबार मिसिल र अभियोगपत्र जिल्ला अदालत गोरखामा पठाएको हो । प्रतिवादीविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताइएको छ ।

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ तथा विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार मुद्दा दर्ता गरिएको हो । प्रतिवादी गुरुङलाई आर्थिक जरिवानासहित ६ वर्ष कैद सजाय हुन पनि राजस्व अनुसन्धान विभागले माग गरेको छ ।

बरामद भएको सुनको मुल्य आठ करोड ९१ लाख ६८ हजार रुपैयाँ कायम भएको छ । प्रतिवादी धनकमल गुरुङले बयानमा लोप्साङ लामा भन्ने व्यक्तिबाट आफूले सुन लिएको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाले सुनसहित मुख्य आरोपित धनकमल गुरुङलाई साउन १० गते राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । विभागले एक महिनाभन्दा बढी समय लगाएर अनुसन्धान पूरा गरी जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरेको हो । विभागले पठाएको अभियोगपत्र अनुसार प्रतिवादी धनकमल गुरुङसँग मंगलवारै बयान गरिएको जिल्ला अदालतका स्रेस्तेदार विनोदप्रसाद अधिकारीले बताए ।

यसरी भेटिएको थियो सुन
तिब्बती बजारबाट अवैध रूपमा भित्र्याइएको १६ किलो सुन गारखाको धार्चे गाउँपालिका–३, खोर्लाबेसीनेरको ओडारमा लुकाइराखेको अवस्थामा साउन ९ गते बिहान प्रहरीले बरामद गरेको थियो । ‘बोराले बेरेर झोला र सलले बाँधी ढुंगामुनि लुकाइराखेको अवस्थामा सुन भेटिएको थियो ।

२९ दिनदेखि सम्पर्कविहीन रहेका धार्चे गाउँपालिका–१, हुल्चोकस्थित यारुबगरका खच्चड व्यवसायी धनकमल गुरुङले उक्त स्थानमा सुन लुकाएर राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि धनकमललाई प्रहरीले बुधबार काठमाडौंबाट पक्राउ गरेको थियो । खच्चड व्यवसायी धनकमल गत असार ११ गते राति १० बजेबाट हराएका थिए । उनले असार १२ गते आफू अपहरणमा परेको भन्दै परिवारजनलाई जानकारी गराएका थिए । सुन ल्याएको सुइँको पाएपछि केही युवाले आफूलाई आक्रमण गरेको उनले बताएका थिए ।

सुरुमा परिवारले धनकमल सम्पर्कविहीन छन् भन्दै उजुरी दिए, पछि परिवारसँग सम्पर्क भयो भनेर फिर्ता लिए । परिवारको सम्पर्कमा आउने, हाम्रो सम्पर्कमा नआउने, घटना शंकास्पद बनेपछि खोजी तीव्र पारेको थियो ।

खच्चड धपाउँदै माछाखोलातर्फ आएका धनकमल खच्चड छाडेर सम्पर्कविहीन बनेपछि घटना रहस्यमय बनेको भन्दै प्रहरीको एक टोली उत्तरी क्षेत्रमा खटिएको थियो । दिउँसो सुन कटाउँदा जोखिममा पर्ने भएपछि राति कटाउने योजना बनाएको र त्योसमेत असफल भएपछि उनी सुन लुकाएर सम्पर्कविहीन भएका थिए ।

१६ किलो सुन काण्ड : विभागद्वारा अनुसन्धान शुरु