इस्लामिक स्टेट विरुद्धको कारवाही अमेरिका एक्लैको नभएको ओबामाको भनाई

barak-obama-finalअमेरिकी राष्ट्रपति बराक ओबामाले इस्लामिक स्टेट विद्रोहीहरु विरुद्धको कारवाही अमेरिका एक्लैको नभएको बताउनु भएको छ । ह्वाइट हाउसमा बोल्दै उहाले सिरिया तथा इराक दुवै देशमा ती विद्रोहीहरु विरुद्ध हमला गर्ने घोषणा पनि पनि गर्नुभएको छ ।

उहाले आतंकवादी समूह विरुद्धको कारबाहीले केही समय लिए पनि अमेरिका र विश्वको सुरक्षाका लागि सो समुहलाई पराजित गर्न सबै कदमहरु चालिने स्पष्ट पार्नुभयो ।

अमेरिका र पाँच अरब देशहरुले इस्लामिक स्टेटका विद्रोहीहरु विरुद्ध सिरियामा हवाइ आक्रमणहरु तिव्र पारेका छन् ।पेन्टागनका अनुसार लडाकु विमान, मानवरहित ड्रोन विमान तथा टोमाहक क्षेप्यास्त्रहरुले आइएसको मुख्य गढ रहेको रक्का सहित कैयौं स्थानमा प्रहार केन्द्रित गरेका थिए ।

यसअघि सिरियाली मानवअधिकारवादी संस्था सिरियन अबजरभेटरी फर ह्युमन राइट्सले पहिलो दिनको कारबाहीमै आइएस सम्बद्ध कम्तीमा ७० विद्रोही मारिएको जनाएको थियो ।

अमेरिकी सैन्यका सबैभन्दा उच्च अधिकारी जेनरल माटिर्न डेम्प्सीले सिरियास्थित इस्लामिक स्टेटका अखडाहरुमा गरिएको सैन्य कारवाहीले आफ्नो रणनीतिक लक्ष्य हासिल गरेको जिकिर समेत थिए ।