ओबामाद्वारा विवादास्पद सैनिकको जेल सजायमा कटौती

obama-armyअमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको अहिलेसम्मकै सबैभन्दा धेरै गोप्य सूचना चुहाएको अभियोगमा जेलजीवन बिताइरहेकी एक अमेरिकी सैनिकको बाँकी जेल सजाय कटौती गरिदिएका छन् । आफ्नो कार्यकाल सकिन दुई दिन बाँकी छँदा ओबामाले बुधबार विवादास्पद सैनिक चेल्सी म्यानिङको सजाय कटौती गरेका हुन् ।

उनीमाथिको सजाय असान्दर्भिक भन्दै कटौतीका लागि राष्ट्रपतिको कार्यालयमा निवेदन परेको थियो । २९ वर्षीया ट्रान्सजेन्डेर म्यानिङले सन् २०१० मा विकिलिक्सलाई लाखौँ सूचना चुहाएकी थिइन् । गोप्य सूचना चुहाएको अभियोगमा उनलाई सन् २०१३ मा अमेरिकाको एक अदालतले ३५ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

म्यानिङ अमेरिकी इतिहासमा अहिलेसम्मकै ठूलो सूचना चुहावट गर्ने व्यक्ति हुन् । उनले सात लाख गोप्य सूचना चुहाएकी थिइन् । तीमध्ये अधिकांश सूचना सुरक्षासँग सम्बन्धित थिए ।

उनले गत वर्ष कारागारमा दुईपटकसम्म आत्महत्या प्रयास गरेकी थिइन् । उनले भोक हडतालसमेत गरेकी थिइन् । सेनाले उनलाई मानसिक रोग लागेको भन्दै उपचार गरेको थियो । उपचारपछि हडताल स्थगित गरेकी थिइन् । राष्ट्रपति ओबामाले उनलाई माफी दिएसँगै म्यानिङ आगामी १७ मेमा रिहा हुनेछिन् ।

आफ्नो कार्यकालमा राष्ट्रपति ओबामाले विभिन्न अभियोग लागेका दुई सय नौजना अमेरिकीको सजाय कटौती गरिदिएका छन् भने ६४ जनालाई माफी दिएका छन् । संख्याका हिसाबले राष्ट्रपति ओबामाले दिएको क्षमादान पूर्वराष्ट्रपतिहरूका तुलनामा न्यून हो । राष्ट्रपतिसमक्ष क्षमादानका लागि याचना गर्दै ह्वाइटहाउसमा हजारौँले निवेदन दिएका थिए ।

कार्यकालको अन्तिम समयमा अमेरिकी राष्ट्रपतिले राजकीय शक्तिको प्रयोग गर्दै क्षमादान वा दोषीमाथिको सजाय कटौती गरिदिने चलन छ । क्षमादानका लागि अनुरोध गर्नेमा विकिलिक्सका संस्थापक एडवार्ड स्नोडेनदेखि तालिबानले नियन्त्रणमा लिएका अमेरिकी सैनिक बोवी बर्गड्यालसम्म छन् ।