ओबामा र ट्रम्पबीच तीन घण्टा कुराकानी

obama-meets-trump

निर्वाचन प्रचार प्रसारका क्रममा राष्ट्रपति बन्न अयोग्य घोषणा गरेका अमेरिकी राष्टपति बाराक ओबामाले अन्ततः सत्ता हस्तान्तरणका लागि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गरेका छन् ।

बिहिबार यी दुई नेताबीच भेट भएको हो । भेटपछि ट्रम्पले ओबामासँगको भेट आफ्नो लागि सम्मानको विषय भएको बताएका छन् भने ओबामाले यो भेटलाई शानदार भनेका छन् ।

ओवल कार्यालयमा डेढ घन्टासम्म चलेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति ओबामाले आफूहरुबीच घरेलु र अन्तराष्ट्रिय मामिलामा कुराकानी भएको बताए । ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफलताको कामना गर्दै उनको सफलतामा नै अमेरिकाको सफलता लुकेको बताए ।

ओबामाका अनुसार भेटमा सत्ता हस्तान्तरणका साथसाथै विदेश नीतिबारे पनि कुराकानी भएको छ । ट्रम्पले जसरी आफ्नो टिमसँग मिलेर काम गर्न चाहेका छन, त्यसबाट आफू प्रभावित भएको समेत ओबामाले बताए ।

ट्रम्पले पनि भेटका लागि ओबामालाई धन्यवाद दिए । उनले भने, हामीले अमेरिकाको उपलब्धीका साथसाथै चुनौतीको पनि चर्चा गर्यौं । म अमेरिकाको हितका लागि राष्ट्रपति बाराक ओबामासँग मिलेर काम गर्न चाहन्छु । मलाई भविश्यमा उनको सल्लाह आवश्यक छ ।

ओबामासंगको भेटका लागि ट्रम्प न्यूयोर्कबाट आफ्नो निजी विमानमा वासिङटन एयरपोर्टमा उत्रिएका थिए । उनीसँग पत्नी मेलानिया पनि थिइन, जसले अमेरिकाकी वर्तमान प्रथम महिला मिशेल ओबामासँग भेट गरेकी छन् ।