ओबामा सरकारको पछिल्लो निर्णयपछि हजारौं नेपालीमा खुसी छायो

usa

गत वर्षको वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परेका अमेरिकामा रहेका नेपालीहरुका लागि ओबामा प्रशासनले जाँदाजाँदै ठूलो उपहार दिएको छ । यो उपहारले हजारौं नेपाली लाभान्वित हुनेछन् ।

गत मंगलबार ओबामा सरकारले भूकम्पपीडित नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) म्याद थप डेढ वर्षका लागि बढाएपछि अमेरिकामा रहेका हजारौं नेपालीहरुमा खुसी छाएको छ ।

अमेरिकी सरकारले गत वर्ष वैशाखमा गएको भूकम्पपछि त्यही वर्ष जुन २४ मा त्यो बेलासम्म अमेरिका प्रवेश गरेका नेपालीका लागि अमेरिकी सरकारले डेढ वर्षको टीपीएस सुविधा दिएको थियो । त्यो सुविधा आउँदो डिसेम्बरमा सकिंदैछ ।

संघीय सरकारको यो निर्णयसँगै अब कागजपत्र नभएका नेपालीले सन् २०१८ जुन २४ सम्म कानुनी हैसियतमा अमेरिकामा बस्न र काम गर्न पाउनेछन् । यसले भिषा अवधि सकिएका विद्यार्थीहरुलाई बढी लाभ हुनेछ भने लुकेर बसेकाहरुले पनि यो सुविधा पाउनेछन् ।

तर, यसका लागि भूकम्प जानुअघि अमेरिका पुगेको हुनुपर्नेछ र यसअघि निवेदन दिएका र नदिएका दुबैथरिले सो सुविधा लिन पुनः निवेदन दिनुपर्नेछ । उनीहरु भूकम्प पीडित भएको प्रमाण भने पेश गर्नुपर्नेछ ।

यो सुविधासँगै कागजपत्रबिना यहाँ बसेका नेपालीले काम गर्ने अनुमति पाउनेछन् भने भूकम्पपीडित परिवारका सदस्यलाई भेट्न नेपाल जानसमेत कागजपत्र बनाउने सुविधा प्राप्त गर्नेछन् ।

राष्ट्रपति उम्मेदवार डेमोक्र्याटिककी हिलारी क्लिन्टन र रिपब्लिकनका डोनाल्ड ट्रम्पबीच आप्रवासी नीतिमा आकाशजमिनको मतभेद रहेका बेला ओबामा प्रशासनले मंगलबार संघीय सरकारको वेबसाइटमा यस्तो सूचना प्रकाशित गरेको हो ।

यसअघि दिइएको टीपीएस सुविधाको म्याद आगामी डिसेम्बर २१ मा सकिने भएकाले अमेरिकामा रहेका कागजपत्रविहीन नेपालीले यसको अवधि बढाउन विभिन्न निकायमार्फत पहल गरिरहेका थिए ।

यो सुविधाले अवैध रूपमा अमेरिका बसिरहेका तथा बस्न कानुनी प्रक्रिया अगाडि बढाइरहेका नेपालीले काम गर्न पाउँछन् । संघीय सरकारको यो निर्णयसँगै अब कागजपत्र नभएका नेपालीले सन् २०१८ जुन २४ सम्म अमेरिकामा बस्न र काम गर्न पाउनेछन् ।

अघिल्लोपटक करिब १० हजार नेपालीले यो सुविधा लिएका थिए । नेपालीलाई भूकम्प पीडितका नाममा टीपीएस सुविधासँगै कैयौं वर्षदेखि कागजपत्रबिनै अमेरिका बसिरहेका विद्यार्थी, शरणार्थी सुविधा खोजिरहेका तथा छोटो भिसामा आएका नेपालीलाई फाइदा पुगेको थियो ।

अघिल्लो वर्ष विभिन्न कारणले यस्तो सुविधा लिनबाट वञ्चित नेपालीले समेत यसपटक यसका लागि आवेदन दिन पाउनेछन् । अब गत वर्ष जुन २४ सम्म छोटो भिसामा अमेरिका आइपुगेर यतै बसेका नेपालीले भूकम्प पीडितका रूपमा कमसेकम सन् २०१८ को जुनसम्म निर्धक्क बस्ने अनुमति पाउनेछन् ।

अमेरिकाले नेपाल, लाइबेरिया, एल्साल्भाडोर, गिनी, हाइटी, होन्डुरस, निकारागुवा, सियरालिओन, सोमालिया, सिरिया, सुडान, दक्षिण सुडान र यमनका नागरिकलार्य समेत टीपीएस सुविधा दिएको छ ।

अमेरिकाले अस्थाई सुरक्षित दर्जा सुबिधाको म्याद पुन थप्यो