ओम बिक्रम बिष्टको सहयोगार्थ एक घन्टाभित्र दुई लाख १० हजार जुट्यो

मृगौला रोगले अमेरिकामा थला परेका पप सम्राट ओमविक्रम बिष्टको उपचारका लागि आर्थिक सहयोग जुटाउन नर्थ क्यारोलिनामा गरिएको कोष वृद्धि कार्यक्रमबाट एक घण्टाभित्रै दुई लाख १० हजार जुटेको छ ।

सामाजिक संजाल फेसबुकको प्रत्यक्ष प्रसारणबाट सांगीतिक कोसेली प्रस्तुतको साथ गरिएको कार्यक्रममा त्यति रकम उठेको हो । कार्यक्रम अमेरिकाको दक्षिण पूर्वी १५ वटा राज्यहरुमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था नासा नेप्लिज एसोसिएसन अफ साउथ ईस्ट अमेरिका र टीयनसीसीको संयुक्त प्रस्तुतिमा आयोजना भएको थियो ।

मलाई आवाज देउ बोलको गीतबाट शुरूवात भएको उक्त कार्यक्रममा कलाकार सुमन भट्टराई, अग्नि बियांडका लीड भोकलिस्ट प्रदीप घिमिरे र पुराना आधुनिक गायक बसन्त खड़काले गायक बिस्टका चर्चित गीतहरू गाएका थिए ।

कार्यक्रममा विश्वभर छरिएर रहेका नेपालीहरुलाई पप गायक बिष्टको उपचारको सहयोगको लागि अनुरोध गरिएको थियो र कार्यक्रम चलिरहदा दर्शकहरुले प्रत्यक्ष दान पनि गर्ने भएकोले पे-पल लिंक राखि सम्पूर्ण दाताहरुको नाम कार्यक्रममा उल्लेख गरिएकोले यस कार्यक्रम अत्यन्तै सफल भएको नासाका बर्तमान सभापति माधव ढकालले जानकारी दिए ।

यस अघि नासाका सांस्कृतिक समितिका अध्यक्ष विशाल भारतीले आफ्नै सक्रियतामा यस्तै फेसबुक लाइभ फन्ड रेजिंग कार्यक्रम गरेर कलाकार दिपक छेत्रीको उपचारको लागि रु २ लाख र केही समय अगाडी मात्रै पुर्बी नेपालमा आएको बाढीमा १०१३ घर धुरीलाई राहत प्याकेज करिब ७ लाख रुपैया र ७ जना मृतक परिवारलाई रु पाँच हजारको दरले बाड्न सफल भएका थिए ।

गायक ओमबिक्रम बिष्टको आफ्नो दुवै मृगौला खराव भएपछि अमेरिकामा आफ्नो छोरी ज्वाईको घरमा बसेर डायलसिस गराई रहेका छन् । सामान्यता अमेरिकामा मृगौला प्रत्यारोपणको लागि ५ देखि १० वर्षसम्म कुर्नुपर्ने भएकोले गायक बिष्ट भारतमा गई तुरुन्त उपचार गर्न इच्छुक रहेको र आफुसंग खर्चको अभाव रहेको भनि विभिन्न संचार माध्यमबाट सबै नेपालीहरुसंग सहयोगको लागि अनुरोध गरेका थिए ।

सो कार्यक्रमलाई अमेरिकाबाट संचालित ५ वटा चर्चित संचार माध्यमहरू क्रमस इनेप्लिज, नेपालिसाईट, ओएसनेपाल, डिसीनेपाल र फिल्मी वजारले प्रत्यक्ष प्रसारण गरेका थिए ।

पप सम्राट ओम विक्रम बिष्टको उपचारमा खर्चको अभाव, सहयोगको याचना