औंला काप्ने, हिंड्दा झुक्ने समस्या छ ? पार्किन्सन पनि हुनसक्छ !

सामान्यतया धेरै मानिसहरुको कुनै सामान उठाउँदा वा केही काम गर्दा हातका औंलाहरु काप्ने गर्दछन् । यसलाई हामीले अनेक किसिमबाट बुझ्ने र सामान्य रुपमा लिने गर्दछौं ।

यो पार्किन्सनको लक्षण हो । पार्किन्सन एक प्रकारको मस्तिष्क विकार हो जसले मांसपेशीलाई नियन्त्रण गर्न छोड्दै जान्छ र समस्या पैदा हुन्छ । यसको लक्षण सुरुमा सामान्य देखिन्छ, जसले गर्दा हामी वेवास्ता गर्दछौं । तर, यस्तो लक्षण सामान्य होइन । सुरुमा औंलाहरु, हात, खुट्टाहरु काप्ने गर्दछ र बिस्तारै यो शरीरको अन्य भागमा फैलिएर हिडडुल गर्दा मांसपेशीहरु कडा हुने, गती कम हुने अगाडितिर झुकेर हिड्ने देखिन्छ ।

यसपछि विस्तारै स्मरण क्षमतामा कमी, डिप्रेसन, दृष्टि भ्रम, ध्यान केन्द्रित नहुने, गन्ध थाहा नहुने, निद्रामा समस्या, पिसाब नियन्त्रणमा समस्या, बोलीमा समस्या आदि देखापर्दछन् । यो मस्किष्क सम्बन्धी रोग हो र संसारभरि नै एक प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ ।

पार्किन्सन एक दीर्घ रोग हो, जुन बिस्तारै बिस्तारै बढ्दै जाने गर्दछ । यो सिधै मस्तिष्कसंग सम्बन्धित छ । मस्तिष्कमा एक विशेष प्रकारको कोष हुन्छ जसलाई न्युरोन भनिन्छ, जसको काम सूचना प्रवाह गर्ने र मांसपेशीको चाललाई नियन्त्रण गर्न सहयोग गर्ने हुन्छ । त्यही कोषले एक विषेश प्रकारको डोपामिन न्युरोन भन्ने रसायन पैदा गर्दछ र सो काम गर्दछ । त्यो कोष सक्रिय रहँदासम्म मानिसमा कुनै समस्या हुँदैन ।

जब पार्किन्सन सुरु हुन्छ तब मस्तिष्कमा रहेका डोपामिनर्जिक न्युरोनहरु क्रमिक रुपमा मर्ने गर्दछन् । मस्तिष्कमा डोपामिनको कमीले गर्दा शरीरका अंग, मांसपेशीमा रोगीको नियन्त्रण गुम्दै जान्छ र अन्ततः बिमारीहरु आफ्नो सामान्य दैनिक कामको लागि पनि पूर्ण रुपमा अरुको भर पर्नु पर्दछ ।

पार्किन्सन रोग जाँच गर्ने कुनै खास परीक्षण छैन । चिकित्सकले स्नायु प्रणालीको परीक्षण, शारीरिक परीक्षण र लक्षणहरुका आधारमा पार्किन्ससन रोग पत्ता लगाउने गर्दछन् ।

अर्को बिमारीको अबस्था हेरेर अपरेसन गरेर मस्तिस्कमा एक उपकरण डीप ब्रेन स्टीमुलेशन (डीबीएस) जोडेर पनि बिरामीहरुको उपचार गर्ने गरिन्छ । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको उपचार यसै गरी गरिएको छ ।

विश्वमा करिब ७० लाख देखि एक करोड मानिसलाई पार्किन्सन रोग भएको अनुमान गरिएको छ । यो रोग मुख्यतः वृद्ध अवस्थामा लाग्ने मानिए पनि लगभग ४ प्रतिशत पार्किन्सन बिमारीहरु ५० वर्ष भन्दा कम उमेरको पाइएको छ । अर्को महत्वपूर्ण कुरा के हो भने यो रोग महिलामा भन्दा पुरुषहरुमा धेरै लागेको पाइन्छ।

नेपालमा पार्किन्सनका बिरामीहरुका बारेमा यथार्थ तथ्यांक पनि छैन र उपचारमा जानेहरुको संख्या निकै कम छ । एक सर्वेक्षणले सन् १९९० देखि यता पार्किन्सन रोगी ३५.७ प्रतिशतले बढेको देखाएको छ । यस्तै बार्षिक रुपमा १.६ प्रतिशतले बढदैछ । यी आकडा र तथ्यबाट नेपालमा पनि यो रोग एक गम्भीर स्वास्थ्य समस्याको रुपमा रहेको बुझ्न सकिन्छ ।

अहिलेसम्म पनि यो रोगको कारण पत्ता लागेको छैन । यो रोग वंशानुगत कारणले हुन सक्ने भनिए पनि जम्मा १० प्रतिशत बिमारीहरुको परिवारमा मात्र पार्किन्सन भएको देखिएको छ । यसबाट प्रष्ट हुन्छ कि पार्किन्सन वंशानुगत कारणले भन्दा अरु नै कारणले धेरै हुने गर्दछन जस्को खोज गर्न अझै बाँकी छ ।

हामीले जान्नैपर्ने कुरा के हो भने अहिलेसम्म यो रोग निको पार्ने कुनै औषधि र उपचार प्रबिधि पत्ता लागेको छैन । अहिलेसम्म यो रोगको उपचार भनेको विभिन्न औषधिहरुको प्रयोगले मस्तिष्कमा डोपामिनको मात्र बढाउने र पार्किन्सनले गर्दा देखा परेका लक्ष्यणहरु नियन्त्रण गर्ने मात्र रहेको छ ।

त्यसो भन्दैमा डराइहाल्नुपर्ने अवस्था भने छैन । पार्किन्सन रोग रोकथाम गर्ने उपाय पत्ता नलागे पनि नियमित रुपमा व्यायाम गर्नाले, हरियो सागसब्जी, फलफुल, भिटामिन, माछा आदिको संतुलीत भोजनले यो रोग लाग्ने सम्भावना कम हुने पाइएको छ ।

– यादब देवकोटा