यिनीहरुलाई दलित भनेर राजनीति गरिरहने कि गार्मेन्ट, औजार र जुत्ता उद्योगी बनाउने ?

– यादब देवकोटा –

आज मुलुकमा एउटा नारा खुब घन्केको छ– “समृद्ध नेपाल सुखी नेपाली” । अनि यो नारा सफल पार्ने आधारहरु भने के हो पत्तै छैन शासक, प्रशासक, नीति निर्माता, योजनाविद् र कार्यान्वयनकर्तासंग ।

आज विश्वमा आधुनिकता र समानता अनि विभेदरहित समाजको नाममा राजनीतिक हिलो छ्यापेर वंशाणुगत पेशाबाट ती शिल्पीहरुलाई विमुख गरिएको छ । जसले गर्दा नेपालको अर्थव्यवस्था उल्टो दिशातिर उन्मुख छ । वैदेशिक रोजगारीले साना–साना कुराहरु आयात गरेर मुलुक धानिएका बेला जातीय विभेदको नाराले वंशाणुगत पेशा लोप हुने अवस्थामा पुगेको छ ।

वंशाणुगत गुण र सीप पेशा अनि व्यवसायलाई व्यावसायिक बनाउँदै उनीहरुलाई सम्मानजनक स्थान दिनुको साटो ‘दलित’ भनेर उनीहरुको सीप र क्षमतालाई वेवास्ता गर्दै आरक्षण र अनुदानमा बाँच्न विवश पारिंदा त्यो अपार सीप र क्षमता राज्यको रुपान्तरणमा प्रयोग नै हुन सकेन ।

अहिले समय बदलिंदैछ । कतिपय युवाहरु पुख्र्यौली पेशामा आकर्षित हुन थालेका छन् । आफूले रगतमै बोकेर आएको सीप त्यागेर विदेशमा पसिना चुहाउनुभन्दा आफ्नै गाउँघरमा काम गरे विदेशकोभन्दा राम्रो कमाई हुन्छ भन्ने पनि चेतना जागृत हुँदैछ । तर, सरकारले अहिलेसम्म वंशाणुगत पेशाको प्रबद्र्धन गर्न चासो दिएको छैन ।

आज सानासाना औजारहरु विदेशबाट ल्याइन्छन् । हाम्रा गाउँघरमा आरनमा काम गर्नेहरुको पेशाको संरक्षण खोई ? तयारी पोशाक उद्योगमा भारत र बंगलादेशबाट कामदार ल्याइन्छन्, परम्परागत रुपमा लुगा सिलाउने काम गर्दैआएका ‘दमाई’हरुलाई रोजगारी खै ? उनीहरुलाई पेशाबाट विमुख गरिएको छ विदेशीको स्वार्थका कारण । दमाईलाई तिमीहरु लुगा मात्र सिउने हो र भन्दै भड्काइदिएका छन् कथित डलरे अभियानकारीहरुले ?

आज माटाका भाँडाहरु विदेशबाट आउँछन्, हाम्रा कुमालेहरुलाई सेरामिक्स उद्योगका मालिक बनाउन किन सकिन्न ? के उनीहरु सधैं सामान्य भाँडाकुडामै चित्त बुझाएर बस्नुपर्ने हो ? खै यस्ता कुरातिर राज्यको दृष्टि र नीति ? परिणाम आफ्नो पेशा छाडेर अन्तै भौतारिन्छन्, धर्म–संस्कति समेत बदलेर । यसलाई जातीय नारा दिइयो, अधिकारको जामा लगाइयो अनि समाज भाँड्ने काम भयो ।

वास्तवमा वंशाणुगत संस्कार, पेशा नेपालको मौलिक शिक्षा थियो र अझै कताकती छ । यस्ता परस्परका एक प्रकारका अलौकिक विशेषता यो भूखण्डका जातीय विशेषता थियो तर तिनको समुचित संरक्षण, सम्वद्र्धन र समयानुकुल विकासतिर ध्यान दिइएन । त्रिशुली नदीमा बस डुब्दा विदेशबाट गोताखोर ल्याउनुपर्ने बाध्यता किन आइपर्यो, भन्दा वंशाणुगत सीप र पेशाको प्रबद्र्धन नभएर हो । जसले गदौ गोताखोरी, पौडीवाज र जलक्रिडाका विषयमा विशेषता हासिल गरेर कीर्तिमान कायम गर्नसक्ने बोटेहरू किं कर्तव्य विमुढको स्थितिमा पुगे ।

त्यस्तै व्यक्तित्व निर्माणमा अतुलनीय योगदान दिने र सुसभ्य, सुसंस्कृत र सौन्दर्यका साथै इज्जतको प्रतीक शिरदेखि पाउसम्मको आकर्षण थरिथरिका पोशाक तयार गर्ने कुशल दमाइहरू किन साउदी र कतार जान मात्रै उत्सुक भए । किन उनीहरु तयारी पोशाक निर्यातक किन बन्न सकेनन् ? सार्कीहरूले ठूलठूला छाला जुत्ता कारखाना खोलेर उद्योगपतिको स्थान किन लिन पाएनन् ? किनभने उनीहरुलाई उठाउनेभन्दा राजनीतिक दाउपेचको शिकार बनाएर विदेशीको इशारामा आफ्नो स्वार्थपूर्ति गर्नतिर सबै लागे ।

खासमा अहिले दलित भनिने यी जात विशेषमा वंशाणुगत गुण र सीप, श्रम तथा अन्य मानवीय प्रतिभाको दृष्टिमा उच्चकोटीका छन् । यिनीहरूमा केही कमी थिएन, कलाका धनी थिए । सीप र जाँगर तथा स्वाभिमानी र स्वावलम्बी थिए । तर नेपालको बहुआयामिक यस्तो विशेषतामा पश्चिमा रणनीतिको ग्रहण लाग्यो । उनीहरूको जीवनशैली तथा संस्कार र संस्कृतिमाथि अतिक्रमण हुनाका साथै उनीहरूका जीवनधारका सवै क्षेत्र र साधन खोसियो ।

वंशाणुगत पेशा अपनाउनेलाई सहुलियत र पुरस्कृत गर्ने नीति सरकारले लिनेन हो भने अझै केही बिग्रिसकेको छैन । यी सीप र क्षमताका धनी जातिलाई सरकारले संरक्षण गरेर अघि बढाउने हो भने नेपालको गरीबी केही वर्षमै ह्वात्तै घट्छ । विश्व बैंक वा मुद्राकोषको तथ्यांक देखाउनै पर्दैन, जनताको घरघरमा समृद्धिको उज्यालो पुगिसकेको हुनेछ ।

आज पशुपक्षी र बोटबिरुद्धको वंश संरक्षण गर्न करोडौं खर्च गरिन्छ तर मानवीय गुण संरक्षणको साटो उनीहरुलाई कथित जातका आधारमा आफ्नो वंशप्रति नै घृणा पैदा गराउने काम गरिन्छ । पशुपक्षीको आणुवंशिक विशेषताको संरक्षण, सम्वद्र्धन जति हुन्छ त्यसको एक छेउ पनि मानिसमा भएन । विकासको पश्चिमा सूत्र कण्ठस्थ पारेर उनीहरुबाटै दीक्षित भएर आएकाहरु एकातिर अनि आफूलाई वर्गरहित समाज निर्माणको ठेकेदार बताउनेहरुको दोहोरो चेपुवामा परेको नेपालको उन्नतिका आधारस्तम्भ हुनसक्ने वंशाणुगत पेशाको नवीकरण नै समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल बनाउने पहिलो आधार हो ।