औद्योगिक क्षेत्रवरिपरिका ८४ प्रतिशत बालबालिकाको रगतमा सिसा

रगत

देशका दुई ठूला औद्योगिक क्षेत्रवरपरका बालबालिकाको रगतमा लिड (सिसा) को मात्रा अत्यधिक पाइएको छ । सन् २०१६ को अन्त्यतिर गरिएको परीक्षणमा वीरगन्ज र काठमाडौंका ८४ प्रतिशत बालबालिकाको रगतमा सिसाको मात्रा धेरै पाइएको हो ।

राजधानी काठमाडौंका ५० बालबालिकामा गरिएको परीक्षणमा अधिकांशमा लिड (सिसा)को मात्रा पाइएको डा. केयर गौतमले जानकारी दिए । ‘काठमाडौंभन्दा वीरगन्जका बालबालिकाको रगतमा लिडको मात्रा धेरै पाइयो,’ उनले भने, ‘शरीरमा ५ माइक्रोग्राम डेसिलेटरभन्दा बढी लिडको मात्रा भएमा अस्वाभाविक मान्नुपर्छ ।’ वीरगन्जको औद्योगिक क्षेत्रवरपरका बालबालिकाको रगतमा २०.३३ माइक्रोग्रामभन्दा धेरै सिसाको मात्रा पाइएको छ, जबकि १२ माइक्रोग्रामभन्दा माथि भएमा विश्व स्वास्थ्य संगठनले उच्च जोखिम भनेको छ ।

घरमा लगाइने रंगमा उच्च जोखिम
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले गरेको अध्ययनअनुसार नेपालका १८ वटा रंग उद्योगमध्ये ४० प्रतिशतले सिसाको अत्यधिक प्रयोग गरिरहेको पाइएको छ । घरलाई चम्काउन लगाइने रंगबाट बालबालिका मात्रै नभएर वयस्क तथा वृद्धावृद्धालाई समेत सीधै असर गर्छ । सरकारले ७ पुस ०७१ को राजपत्रमा सूचना प्रकाशित गरी तोकेको बाध्यकारी मापदण्ड ९० पिपिएम (पार्ट पर मिलियन) तोक्न भनेको थियो । प्रवद्र्धन केन्द्रले गरेको नमुना संकलनअनुसार नेपालको जस्मिन, एपोलो, एरर्टी ६७, अमेरिकन पेन्ट्स उद्योगले अझै पनि सरकारी मापदण्डविपरीत रंगमा ९० पिपिएमभन्दा बढी सिसाको प्रयोग गर्दै आएका छन् ।

बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमै असर पर्ने गरी बजारमा रंगको बिक्री भइरहेको केन्द्रको दाबी छ । नेपालको संविधान ०७२ मा स्वच्छ वातावरणको हक (धारा ३५), स्वास्थ्यसम्बन्धी हक (धारा ४०) र बालबालिकाको हक (धारा ४४) लाई मौलिक हकको रूपमा स्थापित गरे पनि रसायन सुरक्षाको हकलाई भने उल्लेख गरिएको छैन ।

के–केमा प्रयोग हुन्छ सिसाको प्रयोग ?
बन्दुक, सिन्दूर, महिलाले प्रयोग गर्ने गाजल, लिपिस्टिक, नक्कली गहना, बालबालिकाले प्रयोग गर्ने खेलौना, नेलपोलिस, आयुर्वेदिक औषधि, रंगहरूमा, घर रंगाउन प्रयोग हुने विभिन्न रंगीचंगी पेन्ट्समा सिसाको प्रयोग हुने गरेको अध्ययनमा पाइएको छ ।

सिसाको मात्रा धेरै हुँदा के हुन्छ ?
श्वासप्रश्वास र शरीरबाट लिड प्रवेश गर्दा बच्चामा क्याल्सियम र मिनरललाई निष्क्रिय बनाएर शारीरिक सन्तुलनमा समस्या ल्याउन सक्ने डा. गौतमले बताए । नेपालमा धेरैजसो बालबालिकालाई एनिमिया भन्दै आइरन खान दिइए पनि रगतमा सिसा भए–नभएको परीक्षण नहुँदा जटिलता थपिने गरेको उनको भनाइ छ ।

रगतमा सिसाको मात्रा १० माइक्रोग्रामभन्दा माथि भए श्रवणशक्तिमा कमी आउने, अल्छी हुने समस्या देखापर्छ । रगतमा सिसाको मात्रा बढी भए वयस्कलाई पनि डिप्रेसन, उच्च रक्तचाप, सम्झने शक्ति ह्रास हुँदै जाने, तौल कम हुँदै जाने समस्या निम्तने डा. गौतमले बताए । अदुवा, धनियाँ, बेसार, लसुनको प्रयोगले शरीरमा भएको सिसालाई हटाउन मद्दत गर्ने उनको भनाइ छ ।

रगतमा सिसाको मात्रा परीक्षण नहुँदा धेरैजसो मानिसमा पेट दुख्ने, टाउको दुख्ने, मानसिक रोगी हुने, रगतको कमी हुने गरेको पाइएको छ । डा. गौतमका अनुसार १० जनामा गरेको परीक्षणमा तीनजनामा पोजेटिभ देखिएको छ । चीन, अमेरिका, अस्ट्रेलिया, युरोपेली मुलुकमा सन् १९८० मै रगतको परीक्षण गर्ने मापदण्ड तोकिएको थियो । नेपालमा भने सन् २०१० बाट मात्रै यसको विषयमा बहस हुँदै आएको छ ।

स्कुले बालबालिकामा पनि धेरै सिसा
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले गरेको अध्ययनमा स्कुले बालबालिकाको रगतमा पनि सिसाको मात्रा धेरै पाइएको छ । केन्द्रले दुई साताअघि राजधानीको पाँचवटा स्कुलमा २२ वटा नमुना संकलन गरेको थियो । जसमा स्कुलभित्रको कक्षाकोठामा बस्ने बालबालिकाको रगतमा सिसाको मात्रा धेरै रहेको पाइएको जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र साहले जानकारी दिए ।

बालबालिका पढ्ने कक्षाकोठा रंगीचंगी बनाएर सजाइएको हुन्छ, जहाँ सिसाको मात्रा धेरै हुने गरेको उनको भनाइ छ । सन् २०१० देखि निरन्तर सिसाका विषयमा अध्ययन गर्दै आएको केन्द्रले रगत परीक्षणका क्रममा चारवटा अध्ययन गरेको छ । बालबालिकाले खेल्ने रंगीचंगी खेलौनामा विभिन्न घातक रसायनबारे अध्ययन गर्दा ५४ प्रतिशतमा निकै घातक रसायन लेड, मर्करी, ब्रोमिन, क्याडमियन तथा क्रोमियम पाइएको कार्यक्रारी निर्देशक साहले बताए ।

आजको नयाँ पत्रिकामा खबर छ ।

कसरी भेटियो बालबालिकाका रगतमा सिसा