कंगोमा नेपाली सेनाको वाहवाही, शान्ति सुरक्षा संगै विकास निर्माणमा अब्बल

नेपाल विश्वमा शान्ति सेना पठाउने छैठौं मुलुक हो । हालसम्म एकलाख भन्दा बढी नेपाली सेनाले विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनार्थ काम गरिसकेका छन् ।

पछिल्लो समय शान्ति सेनालाई शान्ति स्थापनाका अतिरिक्त विकास निर्माणमा समेत लगाउन थालिएपछि नेपाली सेनाले त्यसमा पनि आफूलाई अब्बल सावित गरेको छ । विगत १५ वर्षदेखि अफ्रिकी मुलुक कंगोमा नेपाली सेनाको कार्यलाई त्यहाँका जनताले मात्र हैन अन्य देशका सेनाले समेत वाहवाही गरेका छन् ।

कंगोमा विकास सम्बन्धी काममा बंगलादेशी सेना पहिलो स्थानमा छ भने नेपाली सेना दोस्रो । नेपाली सेनाले विकास योजना बनाएर काम गरिरहेको राष्ट्रसंघीय शान्ति मिसन सेक्टर कमान्डको एक युनिटले जनाएको छ ।

सन् २००३ मा पहिलोपटक नेपाली सेना कंगो आएको हो । सेना मातहतको ‘नेपाली इन्जिनियर्स कम्पनी २१’ ले कंगोमा विकास परियोजना सञ्चालन गरिरहेको छ । उसले कंगोमा २५ सय किलोमिटर कच्ची बाटो तयार गरेको छ । दर्जन विद्यालय, शौचालय, पुल, फुटबल ग्राउन्ड, विमानस्थलको धावनमार्ग मर्मतलगायत काम अघि बढाइरहेको छ ।

नेपालमा असजिलो स्थानमा सडक बनाएर अनुभव बटुलेका सेनाका इन्जिनियरहरूले यहाँ काम गरिरहेका छन् । नेपाली सेनाले गर्ने काममा अन्य मुलुकका सेनाले समेत सुरक्षा दिइरहेका छन् ।

विकासका काममार्फत नेपाली सेनाले यहाँका स्थानीयको मनसमेत जितिरहेको छ । द्वन्द्वग्रस्त मुलुकमा अन्य माध्यमबाट विकासका काम अघि बढन नसक्ने भएपछि राष्ट्रसंघले नयाँ बाटो तय गरेको हो । त्यहाँ खटिएका एक सैनिक अधिकारीका अनुसार कामको चाप निकै छ, कामसँगै सुरक्षा चुनौती पनि उत्तिकै छ । डोजर, डम्फर, लोडर लिएर निकै टाढासम्म जानपर्ने हुन्छ । टाढा बस्नसक्ने अवस्था नभएकाले हरेक दिन फर्केर आउनुपर्छ । तैपनि आफ्नो काम गरिरहेका छन् नेपाली सेनाले ।

नेपाली सेनाले १९ पुल, १४ कल्भर्ट, तीन विद्यालय, एउटा फुटबल ग्राउन्ड, सात ठाउँमा ठूला टेन्ट, दुई दर्जन बढी सार्वजनिक शौचालय निर्माण गरिसकेको छ । विद्यालयमा कापी–कलम किट, खाद्यान्न बाँड्ने लगायत कामसमेत सेनाले गरिरहेको छ । विकासका कारण स्थानीयको मन जितेकाले काम गर्न सहज भएको छ ।

सेनाले कंगोका सर्वसाधारणलाई पानी उपलब्ध गराउनेदेखि निःशुल्क स्वास्थ्य परीक्षणका काम पनि गर्दै आएको छ । नेपाली सेनाको शान्ति मिसनले अफ्रिकी मुलुक कंगोमा विकास–निर्माणका काममा पाएको यही सफलताकै कारण अन्य देशका मिसन कार्यालय बन्द गरेर फर्कंदा पनि नेपालीको भने माग बढिरहेको छ ।

कंगोमा नेपाल, बंगालादेश, उरुग्वे, चीन, इन्डोनेसिया र दक्षिण अफ्रिकाका सेनाले विकासको काम गरेकोमा पछिल्लो मूल्यांकनपछि उरुग्वे र दक्षिण अफ्रिकाको पूरै मिसन फर्किएको छ । बंगलादेशी र नेपाली सेनापछि कंगोमा चीन र इन्डोनेसियाका सेनाले विकासका काममा सफलता पाएका छन् ।

कंगोमा पनि बेनीको बजार