कंगोमा पनि बेनीको बजार…

नरेन्द्र साउद 

नरेन्द्र साउद ‘सर नमस्कार, नेपालबाट कहिले आउनुभएको ? मलाई पनि ससुराली जान मन थियो’, एक जना कंगोली युवकले नेपाली भाषामा फररर् बोल्दा पंक्तिकार झसंग भयो । ‘नेपाली राम्रो बोल्नु हुँदो रै’छ त ? ‘ पंक्तिकारको जिज्ञासा भुइँमा खस्न नपाउँदै ती युवाले भने, ‘सर जानेको छु । गीत पनि राम्ररी गाउन सक्छु ।’

कुन गीत गाउनुहुन्छ ? अर्को प्रश्नमा उनले भने, ‘सर यो ठाउँको नाम बेनी हो । बेनीको बजार, जता माया उतै छ नजर …।’ मीठो सुरमा नेपाली गीत गाउन थाले कंगोली युवा अमन । शान्ति मिसनमा खटिएको नेपाली सेनाको कंगोस्थित बेनी गुल्मभित्र काम गर्दै आएका अमन नेपाली भाषामात्र होइन, नेपाली संस्कार र सभ्यतासँग पनि नजिक थिए । नेपाली सेनाको ब्यारेक (नेपब्याट) भित्र अर्का कंगोली युवक भेटिए, राजुबहादुर चौधरी । असली नाम अब्दुल बताउने चौधरीले भने, ‘पहिला यो ठाउँमा भारतीय सेनाको ब्यारेक थियो । अहिले नेपाली सेना आएपछि हामीले काम पाएका छौं ।’

दुई बच्चाका बाबु अब्दुल आफूलाई २३ वर्ष पुगेको बताउँछन् । ‘सर मेरो घर बेनी, ससुराली दमौली’, नेपाली प्रतिनिधिमण्डललाई (म्याग्दीको बेनी र तनहुँको दमौलीको सम्झना दिलाउँदै ) हँसाउँदै अब्दुलले भने । नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले सोधे, जाने हो त ससुराली ? ‘ अब्दुलले जवाफ दिए, ‘पासपोर्ट छैन, कसरी जाने ? ‘ नागरिकता छ त ? भन्ने प्रश्नमा उनी अकमकिए । द्वन्द्वग्रस्त कंगोका अब्दुललाई नागरिकता वा नागरिक परिचयपत्र हुन्छ भन्ने जानकारी नै रहेनछ ।

नेपाली बजारमा लोकप्रिय गोल्डस्टार जुत्ता लगाएका अर्का युवा वीरबहादुर चौधरी पनि नेपाली भाषामा पोख्त रहेछन् । ‘भात खान पाउने त यहीँ (नेपाली सेनाको ब्यारेक) भित्रमात्र हो, घरमा सिमल तरुल हो’, माइकल नाम गरेका (वीर) बहादुरले भने । उनी बसेको स्थानमा क्रिस्चियन समुदाय धेरै र मुस्लिम समुदायको बस्ती कम भएको जानकारी दिँदै माइकलले भने, ‘हामी युवा सबैभन्दा बढी जोखिममा छौं । को सेना हो, को विद्रोही हो भन्ने चिनिँदैन । दोहोरो मारमा परेका छौं ।’

हीराका मालिकलाई कासावको भर
प्रकृतिले कंगो यति धेरै धनी छ कि वर्णन गरिसाध्य छैन । जमिनमुनि हीरा, सुन र पत्थर खानी, जमिनमाथि जे फाल्यो, त्यही फल्ने । माटो यति मलिलो छ कि, रासायनिक मल चाहिँदैन ।

जता हेर्‌यो हरिया फाँट । टाढाबाट हेर्दा हाम्रै नेपालको तराईका जस्ता धानका लमतन्न फाँट, नजिकै घाँसे मैदान । पाम र केराका बारीले कंगो नवदुलहीझैं सजिएको छ । तर कंगोवासीको विवशता, सुन फल्ने फाँट बाँझै छन् । जनता खेती गर्न छोडेर जंगलमा जे भेट्यो त्यही खाएर छाक टार्न विवश छन् । विद्रोही सेनाको डरका कारण खेतीपाती गर्न छोडेका कंगोवासी जंगल जानसमेत डराउँछन् ।

‘खेती गर्‌यो, विद्रोही आएर लुटेर लग्छन्, पेट पाल्न जंगल जानुपर्छ’, माइकलले भने, ‘जंगलमा गयो माईमाई (विद्रोही समूह) भेटिन्छ । बाँच्नै गाह्रो छ ।’ शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत आवश्यकतासमेत नपाएका कंगोको पूर्वी भाग बेनीवासीको खाद्यान्नको मुख्य आधार भनेको जंगली सिमल तरुल (स्थानीय भाषामा कासावा) हो । ‘तरुललाई पिठो बनाएर त्यसको लिटो र त्यसैको पातको साग बनाएर खान्छौं’, अब्दुलले भने, ‘अरू जंगलमा जे फलेको छ, त्यही खाने हो ।’

मलेरियालगायतका विभिन्न रोगबाट पीडित बालबालिका र महिलाका लागि नेपाली सेनाले बेलाबखत स्वास्थ्य क्लिनिक सञ्चालन गर्छ । पाठ्यपुस्तक वितरण गर्छ । अन्य सामाजिक काम गरिरहेको छ । ‘नेपाली सेना धेरै राम्रो छ । हामीलाई जे पर्दा पनि सहयोग गर्ने नेपाली सेना नै हो’, अब्दुलले भने, ‘हाम्रो बाटो बनाइदिने, पुल बनाइदिने, उपचार गरिदिने नेपाली सेनाले नै हो ।’ कंगोस्थित नेपाली सेनाका मिसन प्रमुख भरत शाहले भने, ‘शान्ति स्थापनाको कामसँगै यहाँका जनताको मन जित्ने थुप्रै सामाजिक काम नेपाली सेनाले गरेको छ ।’

कंगो किन अशान्त ?
सुडान विभाजनपछि अफ्रिकी मुलुकमा दोस्रो ठूलो देश हो, कंगोबेल्जियमको उपनिवेशबाट सन् १९६० मा स्वतन्त्र भएयता कंगो विभिन्न थरीका हिंस्रक र अराजक गतिविधिको सिकार बनिरहेको छ ।

राजा लिओपोर्ड दोस्रोले व्यक्तिगत स्वार्थका लागि रबर व्यापार सुरुआत गरेपछि भएको विद्रोहमा ठूलो जनधनको क्षति भएको थियो । त्यसपछि राष्ट्रपति कासाभुबु, प्रधानमन्त्री प्याट्रिक्स, तानाशाही कर्णेल जोसेफको शासनकालमा आन्तरिक कलह र विभिन्न राजनीतिक व्रिदोही समूह जन्मिए । छिमेकी रुवान्डामा सन् १९९४ मा भएको महानरसंहारले कंगोलाई थप द्वन्द्वतिर धकेल्ने काम गर्‌यो ।
आठ लाख मानिसको ज्यान जाने गरी रुवान्डामा भएको नरसंहारपछि त्यहाँका आतंककारी पृष्ठभूमिका मानिसहरू ठूलो संख्यामा कंगो भित्रिएका थिए । सुन र हीराका खानीदेखि राज्यसत्ताका महत्त्वपूर्ण भागमा समेत रुवान्डीहरूको सहभागिता बढेपछि विरोधी समूहको जन्म भयो । आज कंगोको मुख्य समस्या यही हो ।

त्यसपछि विद्रोही समूहलाई नियन्त्रण गर्न सरकारले केही समूह बनाएर गाउँलेलाई हतियार बाँड्यो । पछि तिनै हतियार पाएकाहरू विद्रोहीमा परिणत भए । सरकारबाट हतियार पाएपछि विद्रोही बनेकाहरू दर्जनौं समूहमा माईमाई गु्रप बनाएर हिंसा मच्चाइरहेका छन् ।

सेनाभन्दा प्रहरी स्ट्यान्डर्ड
बेनीस्थित नेपाली सेनाको गणबाट अर्को गुल्म रहेको मुत्वांगा जाँदा बाटोको दायाँबायाँ सुरक्षाकर्मीको पोसाकमा हतियार बोकेका मान्छेहरू भेटिन्थे । नेपाली सेनाका अधिकारीहरूले ती हतियारधारी कंगोको राष्ट्रिय सेना (एफएआरडीसी) भनेर परिचय गराउँदा पत्याउनै गाह्रो भयो । उनीहरूका ब्यारेक भनेर देखाइएका झुप्रा देख्दा त सेना पनि यस्तो हुन्छ ? भन्ने प्रश्न जोकोहीको मनमा उठ्छ ।

मुस्किलले मान्छे अट्ने, दाउराले बनाएको छाप्रो, स्याउलाले पानी पनि नछेक्ने गरी बनेका झुप्रा नै त्यहाँका सेनाका गण र गुल्म थिए । मादक पदार्थ खाएर कोही बाटोमा बसेका देखिन्थे भने कोही श्रीमतीलाई ड्युटीमा राखेर आफू घुम्न निस्केका देखिन्थे । विद्रोहीको पनि आफ्नै आचारसंहिता रहेछ, पाँच जनाभन्दा कम सेना एकसाथ हिँडे आक्रमण नगर्ने । त्यही कारण पनि राष्ट्रिय सेनाका मान्छेहरू हतियार बोकेर एक्लै बाटोमा यताउति गरेका देखिन्थे ।

कंगोमा कतिवटा एअरपोर्ट छन् भन्ने कुराको जानकारी स्वयं सरकारलाई पनि छैन । धनी मान्छे यति धेरै धनी कि, उनीहरूका निजी विमान र एअरपोर्ट छन् । गरिबले भात खान नपाएर पाउरोटी माग्नुपर्ने अवस्था । धनीहरूले स्थानीय गुन्डा र आतंककारीलाई हातमा लिएर निजी एअरपोर्टमा विमानमार्फत मिनरल्स संकलन गरेर विदेश लैजाने गरेका छन् ।

उनीहरूमा आफ्नो कर्तव्य र संगठनप्रति कुनै वास्ता गरेको देखिँदैन । राष्ट्रिय सेनाभन्दा प्रहरी स्ट्यान्डर्ड देखिन्थो । सडकमा ड्युटी गर्ने, अन्य देशको सेना आवतजावत गर्दा रेस्पोन्स गर्ने काम त्यहाँको प्रहरीले मात्र गर्दो रहेछ । राष्ट्रिय सेनाको पोसाकमा गाउँले लुटिने र मर्ने क्रम बढ्दै गएपछि राष्ट्रिय सेनाप्रति जनविश्वास नै रहेनछ । ‘हाम्रो सेना त गाउँमा गएर लुट्छ, हामीलाई ऊप्रति विश्वास छैन’, स्थानीय युवक माइकलले गुनासो पोखे ।

महिला हुनु त अभिशाप !

कंगोको बेनीमा महिलाको अवस्था देख्दा जोकसैको मन रुन्छ । उमेर नपुग्दै विवाह गर्न बाध्य पार्ने र कलिलै उमेरमा वर्षैपिच्छे बच्चा जन्माउनुपर्ने अवस्था त्यहाँका महिलाले भोग्नु परेको छ । पर्याप्त र पोसिलो खानेकुराको अभावमा बालबालिका हुर्काउनुपर्ने, पुरुषले बालबालिका स्याहारमा ध्यान नदिने कारण पनि त्यहाँका महिला पीडित छन् ।

‘यहाँ महिला भएर जन्मिनु त अभिषाप नै हो’, नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल चक्र शाह भन्छन् । कंगोमा दुई बच्चा पाएपछि विवाह गर्ने स्वतन्त्रता महिलामा छ । दोस्रो विवाह गर्दा अगाडिको दाँत भने झिक्ने प्रचलन रहेछ । पानीको स्रोत भएर पनि महिलाहरू कैयौं किलोमिटर टाढाबाट खानेपानी पिठ्यूँमा बोकेर जीवन गुजार्ने गर्छन् । जहाँ खन्यो, त्यही मिनरल्स (बहुमूल्य धातुका खानी) भेटिने गरेका कारण त्यहाँको सरकारले खानेपानीका लागि जमिन खन्न बन्देज लगाएको रहेछ ।

नेपाली सेनाको गाडी आवतजावत गर्दा एउटै घरबाट दर्जनौं बालबालिका निस्कन्छन् र बिस्कुटलगायतका खानेकुरा माग्ने गर्छन् । नेपाल नेपाल भन्दै ‘थम्स’ गर्दै बालबालिका गाडीतिर दौडिने गर्छन् । कतिपय बालबालिका त विद्रोहीले घाँटी रेट्ने गरेको संकेत गर्दै नेपाली सेनालाई आफ्नो रक्षा गरिदिन आग्रह गर्ने गर्छन् । शिक्षा, स्वास्थ्य, पोसिलो खानेकुराजस्ता आधारभूत आवश्यकताबाट विमुख ती बालबालिकाका लागि एक पोका बिस्कुट पनि चौरासी व्यञ्जनभन्दा ठूलो बन्ने गर्ने रहेछ ।

अनगिन्ती एअरपोर्ट
कंगोमा कतिवटा एअरपोर्ट छन् भन्ने कुराको जानकारी स्वयं सरकारलाई पनि छैन । धनी मान्छे यति धेरै धनी कि उनीहरूका निजी विमान र एअरपोर्ट छन् । गरिबले भात खान नपाएर पाउरोटी माग्नुपर्ने अवस्था । धनीहरूले स्थानीय गुन्डा र आतंककारीलाई हातमा लिएर निजी एअरपोर्टमा विमानमार्फत मिनरल्स संकलन गरेर विदेश लैजाने गरेका छन् ।

कंगोमा दुई बच्चा पाएपछि विवाह गर्ने स्वतन्त्रता महिलामा छ । दोस्रो विवाह गर्दा अगाडिको दाँत भने झिक्ने प्रचलन रहेछ ।
देशमा सडक सञ्जाल र आधुनिक प्रविधि नहुँदा देशको कुन कुनामा के भइरहेको छ भन्ने कुरा कंगोको राजधानीलाई थाहै हुँदैन । व्यक्तिगत जग्गाजमिनको लालपुर्जा हुने व्यवस्था नभएका कारण त्यहाँ जसले जताको जमिन मेरो हो भनेर बसे पनि हुन्छ । त्यसका लागि उसले त्यो क्षेत्र आफ्नो नियन्त्रणमा भने राख्न सक्नुपर्छ । स्थानीय युवक अमनले भने, ‘धनी मान्छे हवाईजहाजमा आउँछ, यहाँका मिनरल्स त्यही जहाजमा लैजान्छ, सरकारलाई थाहै हुँदैन ।’

सडक निर्माणमा नेपाली सेना
नेपाली सेनाले कंगोमा दुई हजार एक सय किलोमिटर सडक निर्माण गरिसकेको छ । नेपाली सेनाको इन्जिनियरिङ कम्पनीले सडक, फुटबल मैदान, एअरपोर्ट र पुल निर्माण गरेको इन्जिनियरिङ कम्पनीका गुल्मपति हरिशरण नेपालीले बताए । त्यहाँको भौतिक संरचना निर्माणमा राष्ट्रसंघले उरुग्वे, चीन, इन्डोनेसिया, नेपाल र बंगलादेशको सेनालाई उत्कृष्ट मान्यता दिएको छ ।

कंगोमा पनि बेनीको बजार...

 

सडक निर्माणमा लागि नेपाली सेनासँग मात्र क्रेन छ । अरूले पनि नेपाली सेनासँग मागेर काम चलाउने गर्दा रहेछन् । नेपाली सेनाले विभिन्न चारवटा काममा शतप्रतिशत अंक पाएको छ । त्यसबापत राष्ट्रसंघले नेपाली सेनाका सिमन प्रमुख चक्र शाहलाई सम्मान गरेको थियो । कंगोमा ५२ देशका सेनाको मिसन छ, जसमा २० हजारभन्दा बढी सेना तैनाथ छन् ।

अन्नपुर्ण पोष्टमा समाचार छ