कक्षा ११ को परीक्षा असार एकदेखि १० गतेसम्म

स्थानीय तहको निर्वाचनका कारण पटकपटक रोकिंदैै आएको कक्षा ११ को परीक्षा आगामी असार १ देखि १० गतेसम्म हुने भएको छ ।

राष्ट्रिय परिक्षा बोर्डको शैक्षिक क्यालेन्डर अनुसार वैशाख २४ देखि कक्षा ११ का विद्यार्थीहरु परीक्षामा सहभागी हुनुपर्ने थियो । तर, सरकारले स्थानीय तहको निर्वाचनका कारणले पटकपटक परिक्षा सार्दा विद्यार्थी अन्योलमा परेका थिए ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्ली रिमालले बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने भएपछि सो परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो । सरकारले पुनः जेठ ३१ मा तय गरेको निर्वाचन असार ९ मा सारेपछि अन्योल बढेको थियो ।

सरकारले १४ असारमा चुनाव गर्ने निर्णय गरेलगत्तै बुधबार बसेको मबोर्ड बैठकले परीक्षा असार १ गते नै गर्ने निर्णयमा पुगेको हो ।

चैत दोस्रो साता कोर्स सकाएर परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरु परीक्षा पटक पटक सार्दा अन्योलमा परेका थिए । असार पहिलो सातादेखि १२ कक्षाको सहभागी हुनुपर्ने विद्यार्थीले बल्ल ११ कक्षाको अन्तिम परीक्षा दिने तिथि तय भएको छ ।

बोर्डका अनुसार कक्षा ११ को परीक्षा दिन ४ लाख ४९ हजार विद्यार्थीले फाराम भरेका छन् ।