कक्षा ११ को नतिजा ग्रेडिङमा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा पहिलो पटक ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रणालीलाई अनुशरण गर्दै बोर्डले विद्यार्थीको प्राप्ताङ्क अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरेको हो ।

एसइर्इैको नतिजामा अधिकतम चार जीपीएलाई आधार मानेर प्राप्ताङ दिइएको थियो भने ११ मा पनि सोही प्रणाली अबलम्बन गरिएको छ । यस प्रणालीमा अधिकतम अंक ल्याउनेलाई ‘ए प्लस’ दिइन्छ भने यसलाइ जिपिएमा चार मानिन्छ । यस भन्दा प्रत्येक तल्लो ग्रेडमा जिपिए चारबाट जिरो दशमलव चार प्वाइन्टका दरले घटाउँदै अंक दिइने व्यवस्था छ ।

११ को परीक्षामा विद्यार्थीको विषयगत रुपमा ग्रेड छुट्टयाइए पनि एकमुष्ट नतिजामा यस्तो ग्रेड दिइएको छैन । परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा बाह्रको परीक्षापछि मात्र विद्यार्थीको नतिजा एकीकृत रुपमा आउने हुनाले त्यही बेलामा मात्र कुन ग्रेडमा उत्तीर्ण भयो भनेर छुट्टिनेछ ।

विद्यार्थीले कुनै एक विषयमा डी प्लस वा डि भन्दा कम ग्रेड ल्याएको रहेछ भने माघ २७ गते हुने ग्रेड वृद्धि मौका परीक्षामा सहभागी हुन पाउने सत्यालले बताइन् । उनका अनुसार परीक्षामा ७४ जना विद्यार्थीको नतिजा रद्द गरिएको छ भने एक जनाको स्थगित भएको छ ।