कञ्चनपुरमा कफ्र्युको तालिका फेरियो : छानबिन टोली स्थलगत अनुगमनमा 

कंचनपुर

कञ्चनपुरको भीमदत्तनगरमा आइतबार बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र सोमबार बिहान ५ देखि दिउँसो १२ बजेसम्म कफ्र्यु खुलाइएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कफ्र्युको समय तालिका फेरबदल गरेको जिल्ला सुरक्षा समितिका एक सदस्यले जानकारी दिनुभयो ।

विगत केही दिनयता कञ्चनपुरकको भीमदत्तनगरमा १३ वर्षीया निर्मला पन्त काण्डपछि आन्दोलन चर्किदै आएको थियो । यहाँ शुक्रबार राति ८ बजेदेखि स्थिति सामान्यरुपमा ल्याउन र शान्तिसुरक्षा खलबलिन नदिन कफ्र्यु लगाउन थालिएको हो ।

भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कफ्र्यु लगाइँदै आएको छ । भीमदत्तनगरमा वातावरण केही सामान्य बनेकाले आइतबार बिहान पनि पाँच घण्टा कफ्र्यु हटाइएको थियो । सोमबारसम्म तोकिएको समयसीमा बाहेकको समय भने कर्फयु यथावत् रहनेछ ।

छानबिन टोली स्थलगत अनुगमनमा

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आइतबार बालिकाको शव भेटिएको उखुबारीको अनुगमन गरेको छ ।

दुई दिनअघि छानविनका लागि यहाँ आइपुगेको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय टोलीले निर्मलाको शव भेटिएको उखुबारी, निर्मला स्कूलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घरसमेत अनुगमन गरेको छ ।

टोली यहाँ आइपुगेकै समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

यसअघि प्रहरीले घटनाका वास्तविक हत्यारा लकाउन मानसिक सन्तुलन गुमाएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको आरोप लगाउँदै यहाँका स्थानीयले आन्दोलन चर्काएका थिए ।

आन्दोलनरत पक्षले बमको घरमा बढी अनुसन्धान केन्द्रित हुनुपर्ने र मानसिक सन्तुलन गुमाएका व्यक्तिले बलात्कारी गरी हत्या नगरेको दाबी छ । भीमदत्तनगरमा जिल्ला प्रशासनले स्थिति जटिल बन्न नदिन लगाएको कफ्र्युका बीच छानबिन समिति भने अनुसन्धानमा जुटिरहेको छ । छानबिन समितिसहित स्थानीय प्रशासनले आन्दोलन बन्द गरेर छानबिन सहज बनाउन आग्रहसहित यहाँका सर्वदलीय/सर्वपक्षीय बैठकसमेत डाकेको थियो ।

सोही घटनाको यथार्थ छानबिनको माग गर्दै प्रदर्शन गर्दा शुक्रबार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको गोली लागेर मृत्यु भएको थियो । सरकारले शनिबार खुनालाई शहीद घोषणा गर्दै परिवारलाई रु १० लाख आर्थिक सहायता दिने घोषणापछि आइतबार बिहान महाकाली नदीमा उहाँको दाहसंस्कार गरिएको छ ।

आन्दोलनले उग्ररुप लिएपछि कञ्चनपुरमा अनिश्चितकालीन कफ्र्यु : एकको मृत्यु, पाँच घाइते