कञ्चनपुरमा गोली चल्यो, चारजना घाइते, आन्दोलन उग्र, कफ्यू आदेश जारी

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका वास्तविक दोषीलाई कारबाहीको माग गर्दै भएको आन्दोलनमा गोली चलेको छ । आन्दोलन उग्र बनेपछि कर्फ्यू आदेश जारी गरिएको छ ।

आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरिएको हो । यसअघि प्रदर्शन चर्कदै गएपछि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको र गोली लागेर ४ जना घाइते भएको जनाइएको छ ।

घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् छन्। घाइते ४ जना मध्ये भट्टको अवस्था गम्भीर रहेको बताइएको छ ।

पन्तको बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले उनी मानसिक रोगी भएको र वास्तविक हत्याराको बचाउमा प्रहरीले गलत व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलन जारी राखेका छन् ।

स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपार्दै टायर बालेर सवारी आवगमन समेत ठप्प पारेका छन् ।