कञ्चनपुरमा २० नयाँ कुष्ठरोगी फेला

कञ्चनपुरका ६ वटा नगरपालिकामा सञ्चालन गरिएको कुष्ठरोगी खोजी निवारण अभियान अन्र्तगत २० नयाँ कुष्ठ रोगी फेला परेका छन्। कुष्ठरोगी खोज्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले  महाकाली, भिमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुर्नवास नगरपालिमा सञ्चालन गरेको अभियानमा नयाँ कुष्ठरोगी फेला परेका हुन्।

जनस्वास्थ्य कार्यालयका क्षय कुष्ठ अधिकृत उद्धव ठगुन्नाका अनुसार सबै भन्दा बढी भिमदत्तन गरपालिकामा सात जना कुष्ठरोगी फेला परेका छन्। यसैगरी, कृष्णपुरमा पाँच, पुर्नवासमा चार, शुक्लाफाँटामा एक, महाकालीमा एक र बेदकोटमा दुई जना कुष्ठरोगी फेला परेका छन । केही संकास्पद कुष्ठ रोगीहरु समेत फेला परेकाले परिक्षण पश्चात मात्रै रोग भए नभएको बारे एकिन हुने अधिकृत ठगुन्नाले बताए।

उपचारमा पहुँच पुग्न नसकेका, लुकेर बसेका र उपचारका बारेमा जानकारी नभएका रोगीलाई उपचारका लागि ल्याई रोग निवारण गर्ने उद्देश्यले अभियान सञ्चालन गरीएको थियो। कञ्चनपुरमा ५२ जना कुष्ठ रोगी मध्ये ४७ जना उपचारमा रहेका छन्।

अन्य पाँच जना उपचार पछि रोग निको भै घर गएका छन्। विसं २०६६ सालमा नेपाललाई कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो। हाल तराईका केही जिल्लामा कुष्ठरोगको संक्रमण दर उच्च देखिएपछि खोजी अभियान सञ्चालन गरिएको हो ।