कठै ! बिरोलोले मुसा मार्यो भनेर खुसी हुने हामी…

– यादब देवकोटा –

बिरालोले मुसा मार्यो भने त्यो आश्चर्य हुँदैन, तर मुसासंग दोस्ती गरेर भकारी रित्याउन सघायो भने त्यो आश्चर्य हुन्छ । अर्थात् प्राकृतिक, कानुनी नियम विपरीत गयो भने त्यो अनौठो र आलोच्य विषय बन्छ । किनभने हरेकको आआफ्नो काम र जिम्मेवारी हुन्छ ? त्यस्तो जिम्मेवारी प्रकृतिले निर्धारण गरेको हुन्छ, कानुनले तोकेको हुन्छ, अनि जनताले अपेक्षा गरेका हुन्छन् ।

सुरुवात नै बिरालो र मुसाबाट गरियो । बिरालोलाई विकास, सुशासन, स्थिरता अनि समृद्धि र भ्रष्टाचार अनि मुसालाई भ्रष्टाचार, कुरिती, अस्थिरताको प्रतीक मानेर यो आलेख अघि बढाइन्छ । प्रकृतिदेखि कानुनसम्मले, मतपत्रदेखि जनविश्वासले दिएको अधिकार र व्यवस्था अनुसार हरेकले काम गरिरहेको हुन्छ र गर्नु पनि पर्छ आफूमा भएका क्षमता र गुण अनुसार मानिस मात्र हैन पशुपक्षी, जनावरले समेत त्यो भूमिका निर्वाह इमानदार भएर निर्वाह गर्छन् । यदि त्यसो गर्न नसके उसको अस्तित्व सकिन्छ ।

तर, नेपाल अपवाद हो यस मामलामा । नेपालका काम हैन, गफ गर्न सक्नेहरुको मात्र अस्तित्व छ । वडाको सानो तहदेखि सिंहदरबारसम्मै यस्तै गफाडीहरुको हालिमुहाली लामो समयदेखि चल्दै आएको छ । काम गर्न नसक्नेहरुकै हैकम छ । काम गर्ला जस्तोको चर्चै छैन । उनीहरुलाई कसैले अवसर दिंदैनन् । यस्ता उदाहरण अनगिन्ती छ । अर्थात् मुसामार्ने बिरालोहरु किनारा लागेका छन्, मुसासंगै मिलेर धान खानेहरु भकारीको वरिपरी छन् ।

प्राकृतिक नियम अनुसार बिरालोले मुसा मार्न छाड्यो भने बिरालोको अस्तित्व सकिन्छ । त्यस्तै तोकिएको जिम्मेवारी पूरा गर्न सकेन भने कुनै ओहदामा बसेको मान्छे असक्षम हुन्छ, उ त्यो जिम्मेवारीबाट मुक्त हुन्छ र हुनुपर्छ । तर, नेपालमा त्यस्तो छैन । जतिसुकै नालायक भए पनि उनीहरु टिकिरहेका छन् । हामीले नेता मानिरहेका छौं । मुसामार्न छोडेर मुसासंगै दोस्ती गरेर भकारी रित्याउने बिरालोबाटै आश गरिरहेका छौं । उसलाई बिरालो नै भनिरहेका छौं ।

जनताले विकास होस्, समृद्धि आओस् शान्ति सुरक्षा कायम होस् भनेर नेता चुनेर पठाउँछन्, तर उनीहरु आफ्नै समद्धिमा केन्द्रित हुन्छन् । जनताको समृद्धि भगवान भरोसा, विकास उनीहरुकै परिवारको मात्रै हुन्छ, शान्ति उनीहरुको घरमा मात्रै छाउँछ । देशरुपी भकारीको वरिपरी बसेर मुसाहरुसंग दोस्ती गरेर भकारी रित्याउनेहरुको शिकार बनेका हामी नेपालीहरुका लागि कुनै एउटा बिरालोले मुसा मार्यो भने त्यो आठौं आश्चर्य हुने गरेको छ ।

मुसा मार्ला, भकारीको धान जोगाउला भनेर दूध खुवाएर पालेको बिरालो मुसासंग दोस्ती गर्न थाल्यो भने घरमालिकको के हाल होला ? अहिले नेपाली जनताको त्यस्तै हाल भएको छ । त्यसै भएर त कुनै एउटा मन्त्री, सचिव, निर्देशक वा प्रहरी अधिकृतले केही राम्रो कामको संकेत मात्रै दियो भने हामी तीन हात उफ्रिएर उसको पक्षमा नारा लगाउँछौं ।

यो किन भयो ? उत्तर सहज छ– सबै बिरालोहरु मुसासंग मिलेर भकारी रित्याउन लागिपरेका बेला केही त्यस्ता बिरालो देखिए जसले भकारी जोगाउन मुसा मार्ने संकेत गरे । नेपालमा दशकौंको बीचमा एउटा त्यस्तो बिरालो देखापर्ने गर्दछ जसले मुसा मात्रै मार्छ । नत्र मुसामार्ने आशमा पालिएका बिरालो सबै मुसासंग दोस्ती गरेर भकारी रित्याउने र टन्न खाएर चौबीसै घण्टा सुत्ने भए ।

एउटा प्रहरी अधिकृतले अपराधीलाई कुनै हालतमा नछोड्ने अडान राख्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न थाल्छ भने हामी उसको वाहवाही गर्छौं । यथार्थमा ती प्रहरी अधिकृतको काम नै त्यही हो । अर्थात्, ऊ मुसा मार्ने बिरालो नै हो र बिरालोले मुसा मार्यो भनेर हामी दंग पर्छौं । अब केही हुन लाग्यो भन्छौं ।

रमेश खरेल वा सर्वेन्द्र खनाल वा पुस्कर कार्कीहरुले प्रहरीले गर्नुपर्ने काम गरे । उनीहरुलाई वाहवाही गर्नपर्ने थियो त ? तर भयो त्यस्तै किनभने उनीहरु मुसासंग दोस्ती गर्नेहरुको भीडमा मुसाको शिकार गर्न निस्किए । गोकर्ण बिष्टले उर्जा मन्त्री हुँदा महसुल नतिर्नेहरुको विद्युत लाइन काटिदिए । यो कुनै ठूलो काम थिएन । मन्त्रालय वा विद्युत प्राधिकरणको सामान्य काम हो । तर, त्यहाँ मुसासंग दोस्ती गर्ने बिराहरु मात्र थिए । त्यसैले मन्त्रीले काम गरे । वाहवाही भयो । त्यस्तै जनादर्शन शर्मा र कुलमानन घिसिंगको काम पनि मुसा मार्ने नै थियो र मारे । अर्थात् जे गर्नुपर्ने हो त्यही गरे । यो उनीहरुको जिम्मेवारी थियो र त्यसै गरे । हामी अत्यन्त दंग गर्नुपर्ने थिएन । किनभने हामीले उनीहरुलाई त्यस्तै कामका लागि पठाएका हौं ।

तर, बदमासको भीडमा कसैले राम्रो काम गर्दा हामीमा उत्साह पैदा हुन्छ, अब त केही हुन्छ कि भनेर अनि हामी उसको जयजयकार गर्छौं । कारण यसअघि त्यस्तो गर्ने मन्त्री नै थिएन । वास्तवमा ती मन्त्री पनि त्यही काम गर्छु भनेर त्यहाँ पुगेका हुन् भने उनले त्यस्तो काम गर्दा अनौठो र आश्चर्य मान्नुपर्ने कुरै थिएन । तर यहाँ यस्तै छ । अनौठै मान्नुपर्छ । जिम्मेवारी पाएकाहरु बेजिम्मेवार भएपछि सानोतिनो नतिजामै हामी खुसी हुनुपर्ने बाध्यता छ ।

अहिले सिंहदरबारको सयर गर्ने सबै बिरालाहरुले मुसा मात्रै मार्ने कसम खाएका छन् । उनीहरुको अहिलेसम्मको दैनिकी हेर्दा मुसा ढुकेर बस्ने मात्र देखिएको छ, झम्टिने हिम्मत उनीहरुमा छैन । उनीहरु द्विविधामा पनि छन्, मुसासंग दोस्ती त कुनै हालतमा गर्न सकिन्न, तर दुश्मनी पनि गर्न सकिन्न, अर्थात् मुसा मार्न सकिन्न । यस्तै मानसिकताको विकास हुँदाहुँदै कालान्तरमा दोस्ती मुसासंगै हुने र भकारीमा झन ठूलो प्वाल पर्ने त हैन ? अब हामी सधैं कहिले बिरोलोले मुसा मार्ला भनेर कुरेर बसिरहने ? मुसा नमार्ने बिरालो लखेटेर शिकारी बिरालो किन नपाल्ने ? आम जनताले सोच्ने बेला आइसकेको छ ।

पर्यटकहरु पिज्जा र बर्गर खान नेपाल आउँदैनन्