झापामा ओलीलाई कडा टक्करः अधिकारी थोरै मतले पछि

निकै चासोका साथ हेरिएको झापा–५  मा मतगणना सुरू भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली झिनो मतले अग्रता लिइरहेका छन् । अध्यक्ष ओलीले हालसम्म १ हजार ६६५ मत हासिल गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार १५५ मत ल्याएका छन् । दुई बीच ५१० मतको अन्तर रहेको छ ।

दिलबहादुर घर्ती र देवप्रसाद गुरुङ : नरम मिजास, कडा टक्कर

दिलबहादुर घर्ती र देवप्रसाद गुरुङका ओठमाथि जुंगाका रेखी देखिँदैनन् । ‘लामो जुंगा भएकाहरूको जिल्ला’ भनिने लमजुङको एक मात्र निर्वाचन क्षेत्रमा यिनै दुई नेता मंसिर १० गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदका मुख्य प्रतिस्पर्धी हुन् । फरक सैद्धान्तिक आधार र विचार बोक्ने पार्टीबाट प्रतिस्पर्धामा उभ्याइएका यी नेताका आनीबानी भने मिल्दाजुग्दा छन् । दुवै धेरै नबोल्ने नेताका रूपमा चिनिन्छन् ।

कांग्रेस नेता घर्ती लोकतान्त्रिक गठबन्धन र माओवादी नेता गुरुङ वाम गठबन्धनका साझा उम्मेदवार हुन् । संविधानसभा निर्वाचन २०७० मा यी दुवै नेता प्रत्यक्ष चुनाव लडेनन् । घर्ती समानुपातिकबाट सांसद भए । संविधान निर्माणमा सामेल भए । गुरुङ वैद्य नेतृत्वको नेकपा–माओवादीमा लागेर निर्वाचन बहिष्कार गरे । संविधानसभा निर्वाचन २०६४ मा भने घर्ती लमजुङ क्षेत्र नं २ बाट पराजित भए । गुरुङ मनाङ र कास्की–१ दुई क्षेत्रबाटै सभासद निर्वाचित भए । यसपालि संघीय संरचनाले यी दुई नेतालाई सँगै चुनाव लड्न जुराइदिएको छ । घर्ती र गुरुङ दुवै आदिवासी जनजाति हुन् तर कहिल्यै जनजातिका मुद्दा नबोकेको आरोप दुवैमाथि लाग्दै आएको छ ।

लमजुङमा ०४७ यताका हरेक चुनाव जित्दै आएको कांग्रेसले संविधानसभा निर्वाचन ०६४ मा भने साख जोगाउनै सकेन । एमाले र माओवादीले एक/एक क्षेत्रमा कम्युनिस्ट झन्डा फहराए । तत्कालीन क्षेत्र नं. १ माओवादीले जित्यो, २ एमालेले । ०७० मा एमालेले क्षेत्र नं २ गुमायो, कांग्रेसले झन्डा फहरायो । १ मा भने एमालेले जित्यो । अहिले एकै क्षेत्रमा सीमित लमजुङको गुमेको साख फर्काउन कांग्रेसले घर्तीलाई अघि सारेको छ । कम्युनिस्ट झन्डा फहराउन वाम गठबन्धनले गुरुङलाई जिम्मा दिएको छ ।

पार्टी नेतृत्वमा गिरिजाप्रसाद कोइराला छउन्जेल घर्ती कांग्रेस केन्द्रीय सदस्य बने । संसद्को राज्यव्यवस्था समितिको निवर्तमान सभापति हुन् उनी । मध्यनेपाल नगरपालिका–१, जिता घर भएका उनी काठमाडौं बस्छन् । कार्यक्रम हुँदाबाहेक जिल्ला नआउने नेता भनी घर्ती कार्यकर्ताबाटै आलोचित पनि छन् । उनी ०५६ सालमा राष्ट्रिय सभाका सचेतक बने । जिल्लाबाटै राजनीति सुरु गरे पनि पछिल्लो समय केन्द्रीय राजनीतिमा भिजे । पञ्चायतविरुद्ध लागेको आरोपमा उनलाई ‘राजकाज अपराध ऐन’ मुद्दामा सर्वस्वहरणसहित देशनिकाला गरियो । भारतको बनारस पुगेका घर्तीको संगत बीपी कोइरालासँग भयो । बनारसबाट फर्केपछि उनी ०३६ सालमा भएको नेविसंघको केन्द्रीय अधिवेशनबाट महामन्त्री निर्वाचित भएयता उनले स्वदेशमै सक्रिय राजनीति गरे ।

मनाङको नासोङ गाउँपालिका–४ ओडार घर भएका गुरुङको बाल्यकाल मामागाउँ लमजुङको बिम्दामा बित्यो, शिक्षादीक्षा कास्कीमा । जिल्लामा नेता नपाएर मनाङका व्यक्तिलाई ल्याइएको आरोप पार्टीमाथि छ ।

सशस्त्र युद्धका बेला ४ वर्ष जेल काटेका उनी दुई पटक मन्त्री बने । ०३५/३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका गुरुङ दुई वर्षपछि नेकपा मसालको केन्द्रीय सदस्य बने । ०४० सालमा अनेरास्ववियु आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भए । पार्टी एकतापछि ०४७ सालमा एकताकेन्द्रको केन्द्रीय सदस्य बने । ०४८ को आमनिर्वाचनमा संयुक्त जनमोर्चाका तर्फबाट ‘एक वाम एक ठाम’ को नारासहित उनी लमजुङ–१ (हालको प्रदेश ‘क’) बाट चुनाव लडे, हारे । ०५१ मा पार्टीको पोलिटब्युरो सदस्य बने । सशस्त्र युद्धका बेला भूमिगत उनी ०६१ मा स्थायी कमिटी सदस्य बने ।

०६२ मा नेकपा (माओवादी) का तर्फबाट वार्ता टोलीको सदस्य बने । शान्ति प्रक्रियापछि ०६४ मा अन्तरिम विधायिका संसद् सदस्य हुँदै गुरुङ संसदीय दलको उपनेता बने । त्यसपछि सांसद, मन्त्री र एकीकृत माओवादीको संसदीय दलका प्रमुख सचेतकको भूमिकामा रहे । पार्टी फुटेपछि मोहन वैद्यसँगै गएका उनी पुन: माओवादी केन्द्र फर्किए ।

जिल्लामा घर्तीको अलोकप्रियता र गुरुङ बेजिल्लाका भएकाले प्रतिनिधिसभा चुनाव यी दुवैका लागि अग्निपरीक्षा झैं बनेको विश्लेषण छ । चुनाव भने दुवैले जित्ने दाबी गरिरहेका छन् । मतदाताले आफ्नै जिल्लाकालाई जिताउनेमा घर्ती आशावादी छन् । ‘आफ्नै जिल्लाले आफ्नै जिल्लाकालाई भोट दिने भएकाले मेरो जितलाई कसैले रोक्न सक्दैन,’ उनी भन्छन् । गुरुङ भने दुवै वाम पार्टीका मतले जित्ने दाबी गर्छन् । ‘स्थानीय चुनावको पहिलो र तेस्रो पार्टीको साझा उम्मेदवार भएकाले मेरो जितलाई कसैले रोक्न सक्दैन,’ गुरुङले भने । निर्धक्क भने दुवै देखिँदैनन् ।

संविधानसभा निर्वाचन ०७०, क्षेत्र नं. १ मा एमालेका प्रत्यक्ष उम्मेदवारले ११ हजार ३ सय ९ र कांग्रेस उम्मेदवारले १० हजार ४ सय ११ मत पाएका थिए । एकीकृत माओवादी उम्मेदवारले ६ हजार ३ सय ५५ र राप्रपाका उम्मेदवारले २ हजार २ सय ५३ पाएका थिए । अन्य ६ उम्मेदवारले १ हजार ५ सय ३६ मत पाएका थिए । एमाले र माओवादीको जोडदा १७ हजार ६ सय ६४ मत हुन आउँछ । कांग्रेस र राप्रपाको जोडेर १२ हजार ६ सय ६४ र अन्यको १ हजार ५ सय ३६ समेत जोडदा १४ हजार २ सय हुन आउँछ । क्षेत्र नं. २ मा कांग्रेस उम्मेदवारले १४ हजार ७ सय ६५ मत पाएका थिए भने एमाले उम्मेदवारले १४ हजार ९३ । माओवादी उम्मेदवारले ५ हजार २ सय ९५ मत ल्याएका थिए । अन्य राजनीतिक दलले १ हजार ५ सय कटाएनन् । यसमा एमाले–माओवादीको १९ हजार ३ सय ८८ र कांग्रेससहित अन्य दलको १६ हजार २ सय ६५ मत हुन आउँछ । दुवै गर्दा एमाले–माओवादीको पक्षमा ३७ हजार ५२ र कांग्रेसलगायतको पक्षमा २८ हजार ९ सय २९ मत परेको थियो ।

जिल्लामा ४ नगर र ४ गाउँपालिका गरी ८ स्थानीय तह छन् । स्थानीय तह निर्वाचनमा देशभर कांग्रेस–माओवादी केन्द्र गठबन्धन भए पनि लमजुङमा एमाले–माओवादी केन्द्र गठबन्धन भएको थियो । यसैलाई आधार मानेर अहिले एमाले–माओवादी गठबन्धन भएको कतिपयले बताउन थालेका छन् । एमालेले ५ प्रमुख तथा अध्यक्ष र माओवादी केन्द्रले ३ प्रमुख तथा उपप्रमुख साथै एमालेले ५ उपप्रमुख तथा उपाध्यक्ष र माओवादी केन्द्रले ३ उपप्रमुख तथा उपाध्यक्षमा सहमति गरेर चुनाव लडेका थिए । दूधपोखरीमा कांग्रेस उम्मेदवारसँग गठबन्धनका अध्यक्ष/उपाध्यक्ष नै पराजित भएका थिए ।

गठबन्धनबाट २ तहमा अध्यक्ष र ३ तहमा उपाध्यक्षका उम्मेदवार पराजित भएका थिए । लमजुङ प्रदेशसभा ‘क’ मा गठबन्धनबाट एक अध्यक्ष र दुई उपप्रमुख पराजित भएको थियो । प्रदेशसभा ‘ख’ मा एक प्रमुख र एक उपप्रमुख गठबन्धनका उम्मेदवार पराजित भएका थिए । जिल्लामा १ लाख १५ हजार ४ सय ४९ मतदाता छन् । स्थानीय तह चुनावमा १ लाख ५ हजार ९ सय ९२ थिए ।
-कान्तिपुर बाट

भेनेजुएलामा संविधानसभा निर्वाचन सम्पन्न, ४१ प्रतिशत मतदान